काठमाडौं । चियालाई नेपालले उच्च निर्यात सम्भावना बोकेको वस्तुका रूपमा वर्गीकरण गरे पनि केही वर्षयता न यसको खेती गर्ने क्षेत्र विस्तार भएको छ न उत्पादनमै उल्लेख्य सुधार ।
निर्यात पनि उल्लेखनीय रूपमा बढेको देखिँदैन । विगत ५ वर्षमा निर्यात न्यूनतम २ अर्ब ७८ करोड रुपैयाँदेखि ३ अर्ब ९३ करोड रुपैयाँबीचमा भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्यांकमा उल्लेख छ ।
२९औं राष्ट्रिय चिया दिवसको अवसरमा बोर्डले आइतवार सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ पछि चिया रोपण भएको क्षेत्रफल घटेको छ ।
आर्थिक वर्ष (आव) २०७५/७६ मा कुल २८ हजार ७३२ हेक्टरमा चियाखेती गरिएकोमा आव २०८०/८१ सम्म आइपुग्दा २० हजार ७६० हेक्टरमा ओर्लेको छ । बीचका वर्षमा चिया रोपणको क्षेत्रफल अझै घटेको थियो ।
उक्त अवधिमा चिया उत्पादनमा पनि खासै सुधार भएको देखिँदैन । बोर्डको तथ्यांकअनुसार आव २०७५/७६ मा २५ हजार २०५ मेट्रिक टन चिया उत्पादन भएको थियो । आव २०८०/८१ सम्म आइपुग्दा चिया उत्पादन २६ हजार ९८३ मेट्रिक टन पुगेको छ ।
यो सामान्य वृद्धिलाई सन्तोषजनक भने मान्न नसकिने बोर्डका निर्देशक तथा प्रवक्ता डा. दीपक खनालले बताए । साना किसानले चियाखेतीबाट अपेक्षाकृत नाफा कमाउन नसकेको भन्दै विगतमा केही चिया बगान फँडानी गरेकाले चिया रोपण हुने क्षेत्रफल अघिल्ला वर्षहरूको तुलनामा कम भएको खनालले आर्थिक अभियानलाई बताए ।
उनका अनुसार बगान नै फँडानी भएका कारण उत्पादनमा त्यसले प्रत्यक्ष असर गरेको हो । साथै विगतको र हालको तथ्यांक संकलन विधि फरक हुँदा पनि यस्तो देखिएको उनले दाबी गरे । आव २०७८/७९ भन्दा पहिलेको तथ्यांक संकलन विधि वैज्ञानिक नभएकाले तथ्यको नजिक नभएको र अहिलेको उत्पादन तथ्यांक तथ्यको बढी नजिक भएको उनको जिकीर छ ।
बोर्डको तथ्यांकअनुसार नेपालमा १५ हजार २०३ चिया कृषक, १७१ टी इस्टेट र साना मझौला गरी १२० ओटा चिया प्रशोधन केन्द्रमार्फत करीब ६० हजारले रोजगारी पाएका छन् ।
यसअघि चियाखेतीबाट सोचेजस्तो नाफा हुन नसकेको भन्दै झापा, इलामलगायत जिल्लाका किसानले चियाखेती मासेर जग्गा प्लटिङ गर्न थालेको समेत सरोकारवाला बताउँछन् ।
साना किसान चिया उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष हर्क तामाङले पछिल्लो समय झापा, इलामलगायत क्षेत्रमा चिया बगानहरू मासिँदै गएको बताए ।
उनका अनुसार प्लटिङ गरेर बढी मूल्यमा जग्गा विक्री गर्ने, दाजुभाइको अंशबन्डा हुँदा बगान मासेर घडेरीका रूपमा प्रयोग गर्ने, मल, बीउ र कामदार अभावजस्ता कारणले बगान मास्ने क्रम बढ्दै गएको हो । ‘बगान मास्ने क्रम पहाडी जिल्लाभन्दा तराईमा बढ्दो क्रममा छ । झापामा मात्रै हरेक वर्ष जस्तो करीब २० बिगाहासम्म बगान मासेर घडेरी वा वैकल्पिक खेतीमा प्रयोग हुने गरेको छ,’ उनले भने ।
अहिले बोर्डले चियाखेतीको क्षेत्रफल विस्तार र उत्पादन वृद्धि गर्न करीब १९ जिल्लाका स्थानीय निकायसँग समन्वय गरेर कार्यक्रम अघि बढाएको प्रवक्ता खनालले बताए । यसको परिणाम अबको केही वर्षभित्र देखिने उनको दाबी छ । भन्सार विभागको तथ्यांकअनुसार आव २०८०/८१ मा १ करोड ६५ लाख किलोग्राम चिया निर्यात गरेर नेपालले ३ अर्ब ६३ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन गरेको छ । चालू आव २०८१/८२ को चैत मसान्तसम्ममै नेपालले ३ अर्ब ५७ करोड रुपैयाँ बराबरको चिया निर्यात गरिसकेको छ । यस सिजनको पहिलो टिपाइ भर्खरै शुरू भएको हुँदा चालू आवमा चिया निर्यात ४ अर्ब ५० करोड रुपैयाँ हाराहारी पुग्ने अनुमान बोर्डको छ ।