काठमाडौँ । देशमा विद्युतीय चूल्होको उपयोग बढाउने सरकारी लक्ष्य रहे पनि व्यावसायिक प्रयोजनका लागि भन्दै सरकारमातहतकै एउटा निकायले ४५० किलोग्राम क्षमताको ठूला ग्यास सिलिन्डर ल्याउने सम्बन्धमा अध्ययन थालेको छ । नेपाल आयल निगमका अनुसार ठूला आकारका ग्यास सिलिन्डर ल्याउन दिन खास गरी होटेल तथा रेस्टुराँ क्षेत्रबाट लामो समयदेखि माग भइरहेको छ । हाल नेपालमा १४ दशमलव २ किलोग्राम क्षमताका ग्यास सिलिन्डर उपयोगमा छन् ।
ठूला सिलिन्डर आयात गर्ने तयारीस्वरूप सरकारले नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशकको संयोजकत्वमा एक समिति गठन गरेको छ । उक्त समितिले यस विषयमा सरोकारवालासँग छलफल चलाइरहेको विभागका प्रवक्ता प्रभातकुमार सिंहले जानकारी दिए । सरकारले प्रदूषण घटाउने सन्दर्भमा गरेको अन्तरराष्ट्रिय प्रतिबद्धताअनुसार सन् २०३० भित्र २५ प्रतिशत घरपरिवारमा विद्युतीय चूल्होेको उपयोग पुर्याउने लक्ष्य लिएको छ ।
होटेल व्यवसायीको प्रस्तावमा सरकारले ठूलो क्षमताको ग्यास सिलिन्डर ल्याउने तयारी गरिरहेको नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले बताए । ‘व्यवसायीले विगत १० वर्षदेखि ठूलो क्षमताका ग्यास सिलिन्डर ल्याउने वातावरण बनाउन दबाब दिँदै आएका छन्,’ उनले भने । तर, होटेल व्यवसायीले विगतमा यस्तो माग गरे पनि अहिले देशमै विद्युत् उत्पादन बढेकाले बिजुली नै सस्तोमा उपलब्ध गराउनुपर्नेतर्फ आफूहरूको माग केन्द्रित रहेको उनले बताए ।
- विद्युतीय चूल्होको उपयोग बढाउनुपर्नेमा नयाँ ग्यास सिलिन्डर ल्याउन खोज्नु बेमौसमको बाजा जस्तो भएको सरोकारवालाको भनाइ
- सन् २०३० भित्र देशका २५ प्रतिशत घरपरिवारले विद्युतीय चूल्हो प्रयोग गरेको हुने
होटेल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेशकुमार चुकेले होटेलहरू ग्यास चूल्होेभन्दा विद्युतीय चूल्हो चलाउन बढी इच्छुक रहेको बताए । ‘यसअघि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालमा होटेलमा सस्तो दरमा विद्युत् उपलब्ध गराउने विषयमा छलफल भएको थियो र त्यस विषयमा प्राधिकरण सकारात्मकसमेत थियो,’ उनले भने ।
सानो (१४ दशमलव २ किलोग्राम) आकारको सिलिन्डर प्रयोग गर्दा सिलिन्डरको पिँधमा जम्ने ग्यास उपयोग हुन नसकेर चुहावट धेरै हुँदा लागत बढेका कारण विगतमा धेरै क्षमताको सिलिन्डर ल्याउन आग्रह गरेको उनको भनाइ थियो । ठूलो आकारको सिलिन्डर प्रयोग गर्दा पिँधमा ग्यास जमे पनि एउटामा मात्र थोरै जम्ने हुँदा कम खेर जाने तर्कका आधारमा उनीहरूले ठूलो आकारको ग्यास ल्याउन आग्रह गरेको थिए । ‘विद्युत् लोडशेडिङका कारण खानेकुरा पकाउन विद्युत्को प्रयोग गर्न सहज नभएको अवस्थामा ठूलो सिलिन्डर आयात गर्न दिए पनि हुन्थ्यो भन्ने लागेको थियो,’ चुकेले भने । अहिले प्राधिकरणले अघोषित रूपमा बेलुकाको समयमा लाइन काट्ने र लोडशेडिङ गर्ने गरेकाले होटेलहरूमा खानेकुरा पकाउन विद्युत् प्रयोग चुनौतीपूर्ण बन्दै गएको उनको दाबी छ । होटेल व्यवसायीको अर्को संस्था होटेल एशोसिएशन नेपाल (हान) ले भने ठूलो क्षमताका ग्यास सिलिन्डर ल्याउन सरकारलाई प्रस्ताव नगरेको स्पष्ट पारेको छ ।
हानका अध्यक्ष विनायक शाहले पछिल्लो समय देशमा विद्युत् उत्पादन बढ्दै गएकाले बरु होटेल व्यवसायीलाई विद्युत्को उपभोग सहज बनाउन आग्रह गरेको बताए । ‘होटेलहरूको प्रयोजनका लागि सस्तो दरमा विद्युत् उपयोगको व्यवस्था मिलाउन सहजीकरण गरिदिन आग्रह गर्दै केही दिनअघि मात्रै हामीले सरकारलाई ज्ञापनपत्र बुझाएका छौं,’ शाहले भने । ‘हानको उद्देश्य होटेलका भान्साहरूबाट ग्यास विस्थापन गर्दै विद्युत् प्रयोग विस्तार गर्नेतर्फ छ । यस हिसाबले अहिले सरकार उल्टो बाटोमा हिँडिरहेको छ ।’ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत होटेल व्यवसायलाई विद्युत् महशुल घटाउने कुरा समेट्नुपर्ने ज्ञापनपत्रमा उल्लेख भएको उनले बताए । विगत र अहिलेको अवस्था फरक रहेको भन्दै उनले नेपालका होटेलहरूमा अन्तरराष्ट्रिय पर्यटक ल्याउनसमेत सरकारले इको टुरिजमलाई ध्यान दिनुपर्ने बताए ।
सरकारले जारी गरेको ऊर्जा विकास मार्गचित्र २०८१ मा सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ । त्यसबाट १५ हजार ५०० मेगावाट विद्युत् निर्यात गर्ने र बाँकी १३ हजार मेगावाट स्वदेशमै खपत गर्ने सरकारी योजना छ । यस हिसाबले नेपालमा विद्युत् खपत बढाउनुपर्ने अवस्था छ ।
सरकारले २०३५ सम्म प्रतिव्यक्ति वार्षिक विद्युत् खपत १ हजार ५०० युनिट पुर्याउने लक्ष्य लिएको छ । हाल नेपालको प्रतिव्यक्ति विद्युत् खपत वार्षिक ४१० युनिट रहेको छ ।