काठमाडौं । आइतवार पनि नेप्से परिसूचक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन (बिहीवार) २ दशमलव शून्य ८ अंकले बढेको नेप्से आइतवार ३ दशमलव ५८ अंकले बढेर बन्द भएको हो ।
आइतवार २ हजार ६५७ दशमलव ३७ विन्दुसम्म झरेको नेप्से २ हजार ६८४ दशमलव ५१ विन्दुसम्म पुगेको थियो । अन्तिममा २ हजार ६६१ दशमलव ६० विन्दुमा नेप्से बन्द भएको हो ।
आजको शेयर कारोबारका आधारमा नेप्सेमा सानो शरीर र लामो टुप्पी भएको हरियो मैनबत्ती आकृति बनेको छ । यसले बजारप्रति खरीदकर्ता र विक्रेताहरूमा अनिश्चितता रहेको संकेत गर्छ । साथै आगामी दिनमा यसले बजारको दिशा परिवर्तन गर्ने सम्भावना पनि रहेको संकेत देखाउँछ ।
यस दिन १०४ कम्पनीको धितोपत्र मूल्य बढेको छ भने १४१ कम्पनीको धितोपत्र मूल्य घटेको छ । यो दिन पनि नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य उच्च दरमा ९ दशमलव ९९ प्रतिशत बढेको छ ।
प्रतिकित्ता ९४ रुपैयाँ ७० पैसाले बढेर नेपाल माइक्रो इन्स्योरेन्सको शेयर मूल्य प्रतिकित्ता १ हजार ४२ दशमलव ५० रुपैयाँ पुगेको छ भने प्रतिकित्ता ७८ रुपैयाँ ३० पैसाले बढेर अन्तिम मूल्य ८६१ रुपैयाँ ९० पैसा कायम भएको छ । विन नेपाल लघुवित्तको शेयर मूल्य भने आइतवार १० प्रतिशत घटेको छ ।
सामान्य बढेको बजारमा कारोबार रकम भने १० अर्ब ८७ करोड ५९ लाख रुपैयाँभन्दा बढी रहेको छ । उल्लेखित रकम बराबरको २ करोड ८४ लाखभन्दा बढी कित्ता धितोपत्र यस दिन कारोबार भएको हो । अघिल्लो कारोबार दिन ७ अर्ब ८७ करोड ९३ लाख रुपैयाँभन्दा बढीको १ करोड ९७ लाख ५४ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो ।
बढेको बजारमा कारोबार रकम पनि बढ्नुले लगानीकर्ता बजारप्रति आशावादी देखिएको बुझिन्छ । गत साता निरन्तर चार कारोबार दिन बजार घट्दा कम्पनीको शेयर मूल्यमा पनि कमी आएको थियो । यही मौकाको फाइदा आइतवार लगानीकर्ताले उठाएका हुन् ।
यो दिन ङादी ग्रुप पावरको सर्वाधिक रकमको शेयर कारोबार भएको हो । नेप्सेका अनुसार ङादी ग्रुप पावरको ८६ करोड १७ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मूल्य भने ७ दशमलव ५५ प्रतिशत बढेर प्रतिकित्ता ३६६ रुपैयाँ १६ पैसा कायम भएको छ ।
यस दिन कुल बजार पूँजीकरण ४४ खर्ब २५ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन कुल बजार पूँजीकरण ४४ खर्ब १९ अर्ब ७० करोड ६९ लाख रुपैयाँ रहेको थियो । आइतवार ५ अर्ब ९५ करोड रुपैयाँभन्दा बढीले कुल बजार पूँजीकरण वृद्धि भएको हो ।
यस दिन लगानी समूहको परिसूचक सर्वाधिक १ दशमलव ७७ प्रतिशत बढेको छ । त्यस्तै व्याारिकको १ दशमलव १८ प्रतिशत, जलविद्युतको १ दशमलव शून्य ६ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ४१ प्रतिशत, होटल तथा पर्यटनको शून्य दशमलव ३८ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव २४ प्रतिशत परिसूचक बढेको छ । यस दिन वित्त समूहको परिसूचक भने सर्वाधिक १ दशमलव शून्य ५ प्रतिशत घटेको छ ।