काठमाडौं । शेयर बजार परिसूचक नेप्से सोमवार घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज नेप्से परिसूचक १४.५८ अंकले घटेको हो । यससँगै नेप्से २ हजार ६४७.०२ अंकमा झरेको हो ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १० अर्ब ८७ करोडको कारोबार भएकोमा आज ८ अर्ब ९१ करोडको कारोबार भएको छ ।
आज ७८ कम्पनीको शेयर मूल्य बढेको छ भने १६७ को घटेको छ । समग्र बजार घट्दा पनि वित्त समूहका कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ । आज यस समूहको परिसूचक सर्वाधिक १.४० प्रतिशत बढेको छ । वित्त समूहसँगै व्यापारिकको परिसूचक पनि बढेको छ । उक्त समूहको परिसूचक ०.४२ प्रतिशत बढेको छ ।
बाँकी समूहका परिसूचक भने घटेका छन् । जसमा लगानी समूहको परिसूचक सर्वाधिक २.१४ प्रतिशत घटेको छ ।
शेयर बजारको कारोबारका आधारमा आज नेप्सेमा मध्यम आकारको लामो टुप्पी र छोटो पुच्छर भएको रातो मैनबत्तीको आकृति बनेको छ । यो आकृतिले दिनभर बजार माथि उक्लने र तल झर्ने गरेको भए पनि अन्त्यमा विक्री दबाब बढ्दा बजार घटेको देखाउँछ । यसले बजार अझै कमजोर स्थितिमा रहेको संकेत गरेको छ ।