काठमाडौं । नेपाल मैदा उद्योग संघ र भारतको एग्रीवाचबीच सहकार्यको लागि सम्झौता भएको छ ।
संघको २४औं वार्षिक साधारण सभाका अवसरमा शुक्रवार भएको सम्झौता अनुसार भू–उपग्रह (स्याटेलाइट) प्रविधिको प्रयोग गरी नेपालको कृषिक्षेत्र पहिचान, विश्लेषण र परामर्श प्रदान गरिनेछ ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा र संघका अध्यक्ष कुमुद दुगडको सभापतित्वमा सभा भएको थियो ।
एग्रिवाचसँगको सहकार्यबाट नेपालले कृषि बजार मूल्य संकलन, दैनिक, साप्ताहिक र मासिक बजार विश्लेषणजस्ता सेवा पाउनेछ । यसबाट कृषक र व्यापारीलाई सही निर्णय लिन सहयोग पुग्ने विश्वास गरिएको छ ।
साथै, कृषि वस्तुहरूको उत्पादन, उपभोग, आयात–निर्यात विश्लेषण, बजार प्रवृत्तिको मूल्यांकन, बीउ, मल तथा अन्य कृषि निवेशसम्बन्धी अध्ययन र सल्लाह पनि उपलब्ध हुने बताइएको छ ।
डिजिटल कृषि समाधानअन्तर्गत एआई आधारित बाली विश्लेषण, व्यक्तिगत कृषि परामर्श तथा बजार जडान सेवाहरू पनि उपलब्ध गराइनेछ । यसले कृषकहरूलाई आधुनिक प्रविधि अपनाउन सहज बनाउनुका साथै सरकारले भविष्यमा अपनाउनु पर्ने कृषि रणनीति निर्माणमा सघाउने छ ।