काठमाडौं। नेपाल बीमा प्राधिकरणले वैदेशिक रोजगार (म्यादी) जीवन बीमा विक्री गर्ने प्रावधानमा कडाइ गरेको छ । प्राधिकरणले वैदेशिक रोजगार म्यादी जीवन बीमा सामूहिक बीमा कोष (पुल) स्थापना तथा सञ्चालनसम्बन्धी निर्देशन, २०८२ (संशोधन) मा कम्पनीलाई बीमालेख विक्री गर्न बन्देज लगाउनेसम्मको प्रावधान राखेको हो ।
संशोधित निर्देशनमा कोषको सदस्यता गुमाएका बीमा कम्पनीहरूले बीमालेख विक्री गर्न नपाउने व्यवस्था राखिएको छ । वैदेशिक रोजगार विभागमा सूचीकृत भएर लगातार ३ महीनासम्म बीमालेख जारी नगर्ने बीमकको कोषको सदस्यता स्वत: खारेज हुने र यसरी सदस्यता खारेज भएका बीमकलाई बीमालेख विक्री गर्न नपाउने प्रावधान थप गरेको हो ।
यसैगरी निर्देशनमा बीमकले बीमालेख जारी गर्दा पाउने बीमा शुल्क सामूहिक बीमा कोषको छुट्टै बैंक खातामा प्रत्येक महीनाको १ देखि १५ गतेसम्मको विवरण १६ गतेभित्र जम्मा गर्नुपर्ने भएको छ । बीमकले जारी गरेको बीमालेख संख्या, बीमाशुल्क भुक्तानी (भुक्तानी, बाँकी दाबी रकम र संख्या) सहितको विवरण प्रत्येक महीनाको १ गतेदेखि १५ गतेसम्मको १६ गतेभित्र र १६ गतेदेखि मसान्तसम्मको विवरण अर्को महीनाको १ गतेभित्र कोष प्रबन्धकसमक्ष पेश गर्नुपर्नेछ ।
वैदेशिक रोजगारी बीमा हाल पुलमार्फत सञ्चालन भइरहेको छ । १४ जीवन बीमा र ३ लघुबीमा गरी १७ ओटा कम्पनी आबद्ध रहेको पुलमा पुनर्बीमा कम्पनीहरूले आलोपालोमा कोष प्रबन्धकका रूपमा काम गर्दै आएका छन् ।