काठमाडौं । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिटिजन्स सुपर ३० ले चैत मसान्तसम्म ५ करोड ८८ लाख रुपैयाँभन्दा बढी नाफा गरेको छ ।
फागुन मसान्तसम्मको तुलनामा चैतमा योजनाको नाफा घटेको हो । फागुन मसान्तसम्म योजनाले ७ करोड ३८ लाख रुपैयाँभन्दा बढी नाफा गरेको थियो ।
यो महीना योजनाको आम्दानी कम भएको र खर्च बढेकाले नाफामा असर परेको हो । फागुन मसान्तसम्म ८ करोड ४३ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको योजनाले चैत मसान्तसम्म भने ७ करोड ६ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको हो । खर्च भने फागुन मसान्तसम्म १ करोड ५ लाख रुपैयाँभन्दा बढी भएकोमा चैत मसान्तसम्म १ करोड १८ लाख रुपैयाँभन्दा बढी भएको हो ।
१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजना २०८० वैशाख ३१ गतेदेखि सञ्चालनमा छ । योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य १० रुपैयाँ ८३ पैसा छ । फागुन मसान्तसम्म ११ रुपैयाँ ३ पैसा रहेको योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य चैतमा भने घटेको हो ।
बैंक निक्षेपमा ४ करोड रुपैयाँ लगानी गरेको योजनाको कुल लगानी भने ६२ करोड ८९ लाख रुपैयाँभन्दा बढी रहेको छ । चैत मसान्तसम्म योजनाले धितोपत्रमा गरेको लगानीको परलमूल्य भने ६० करोड ९६ लाख रुपैयाँभन्दा बढी छ । धितोपत्रमा लगानी गरी नाफा कमाउने प्रमुख उद्देश्यसहित यो योजना सञ्चालनमा छ ।