काठमाडौं । नेपाल विद्युत प्राधिकरणको नयाँ नेतृत्वले प्राधिकरण ५ अर्ब २६ करोड नोक्सानीमा रहेको देखाएको छ । आर्थिक अभियान दैनिकलाई प्राप्त विद्युत प्राधिकरणको स्वेतपत्रको कार्यकारी सारांशअनुसार चालू आर्थिक वर्षको ९ महीनासम्म प्राधिकरण उक्त नोक्सानीमा रहेको छ ।
‘आव २०८०/८१ सम्म प्राधिकरणको कुल सञ्चित नाफा करीब रु ४६ अर्ब ४७ करोड रहेको छ भने चालू आवको फागुन मसान्तसम्म नाफा रु ९ अर्ब ४८ करोड भएको छ । तर, आयकर ऐनको प्रावधानअनुसार कर प्रयोजनका लागि विगत १२ वर्षको नोक्सानी समायोजन र एस्सेलेरेटेड डिप्रिसिएसनको दाबी सहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी भइरहेको देखिन्छ,’ कुलमान घिसिङको बर्खास्तीपछि कार्यकारी निर्देशकमा नियुक्त भएका हितमान शाक्य नेतृत्वको विद्युत प्राधिकरणले जारी गरेको स्वेतपत्रको कार्यकारी सारांशमा लेखिएको छ ।
यसअघिका कार्यकारी निर्देशक घिसिङले भने प्राधिकरण नाफामा रहेको बताउँदै आएका थिए । कार्यकारी निर्देशकबाट बर्खास्ती भएको १२ औं दिनमा गत चैत २२ गते घिसिङले जारी गरेको प्रेस विज्ञप्तिमा भने विद्युत प्राधिकरणको नाफा करीब रु ४७ अर्ब देखाइएको थियो । त्यतिबेला उनले कर समायोजन नगरी नाफा मात्रै देखाएका थिए ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले भने घिसिङले देखाएको नाफा वास्तविक नभएको दाबी गर्दै आइरहेका थिए । मन्त्री खड्काले राष्ट्रिय सभा बैठकमा प्राधिकरणले देखाएको नाफाबारे डीडीए गर्न आवश्यक रहेको बताएका थिए ।
स्वेतपत्रअनुसार २०८१ फागुनसम्म डेडिकेटेड फिडर तथा ट्रकलाइनतर्फको २३ अर्ब ४४ करोड गरी कुल ४४ अर्ब ५४ करोडको बक्यौता छ । जसमा नेपाल सरकारबाट कोभिड छूट, चिस्यान केन्द्र लगायत शीर्षकमा दिइएको छूटबापतको १४ अर्ब १० करोड रुपैयाँ सोधभर्ना हुन बाँकी छ ।
‘यसरी डेडिकेटड फिडर तथा ट्रकलाइनतर्फको र अन्यसहित बक्यौता जम्मा रु ३२ अर्ब ५ करोड रहेको छ भने बाँकी रु १२ अर्ब ४९ करोड नियमिततर्फको बक्यौता छ । यी बक्यौता रकमहरू आयमा समावेश रहेको छ,’ स्वेतपत्रमा लेखिएको छ ।