काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआइबी)ले अवैध रूपमा रेमिट्यान्सको भुक्तानी गरेको आरोपमा १९ कम्पनीका २१ जना पक्राउ गरेको छ । उनीहरूले अवैध रुपमा मोबाइल वालेटमार्फत १७ अर्ब ८६ करोड कारोबार गरेको प्रहरीले बताएको छ ।
सीआइबीले गरेको अनुसन्धानमा भन्सार चोरी पैठारी, सुनको अवैध कारोबार, कर छली जस्ता कारोबारमा संलग्न व्यक्तिहरुले भुक्तानीका लागि वालेटको प्रयोग गरेको पाइएको छ । यसैगरी विदेशबाट विप्रेषणमार्फत भित्रने रकम अवरोध गरी नेपालमा रहेका आफन्तहरूको खातामा भुक्तानी गर्नका लागि समेत मोबाइल वालेटको प्रयोग गरेको भेटिएको छ ।
पक्राउ पर्नेमा मोरङको डीएस ट्रेडर्स तथा रेमिट्यान्सका वीरेन्द्र साह र दीपेन्द्र साह, दीपज्योति ट्रेडर्स महोत्तरीका श्रवण कुमार साह, रिया ट्रेडर्स सप्तीका तारालाल यादव, सर्लाहीको आनन्द ट्रेडर्सका हरेराम महतो, धनुषाको न्यु सन्ध्या इन्टर्राइजेजका निरोज कुमार महतो, अलिता मनी ट्रान्सफरका अलिता देवी महतो र प्रकाश सिंह, जयमा जानकी मनी ट्रान्सफरका सञ्जीव कुमार महतो तथा श्री एन्जल इन्टरप्राइजेजका अरुण कुमार साह छन् ।
यसैगरी पर्साको आर एन्ड आर सबरेमिटका प्रदीप कुमार साह, नवलपरासीको पुजा सप्लायर्स राजकमल लोनिया, टासी ट्राभल्स एन्ड टुर्सकी भीम कुमारी गुरुङ छन् ।
यस्तै शिवम् इन्टरप्राइजेज सप्तरीका रामविलास साह र ममता कुमारी साह, सास्विका मनी ट्रान्सफर पर्साका विकरण जंग राणा, गोल्डेन स्काई टुर्स एन्ड ट्राभल्स नवलपरासीका गणपति पाण्डे, खुसी मनी ट्रान्सफर विरगञ्जका सलमा खातुन राधिका ट्रेडर्स सप्तरीकी सुशीला कुमारी शाहु, हिमालयन मनी ट्रान्सफर चितवनका गोविन्द प्रसाद आचार्य र सगरमाथा रेमिट्यान्स सप्तरीका शम्भु मेहता रहेको प्रहरीले जनाएको छ ।