२०४८–५१ सालसम्मको नेपाली काङ्ग्रेसको सरकारमा म अर्थमन्त्री थिएँ । त्यही अवधिमा आव २०५०/५१ को आर्थिक वृद्धिदर ७ प्रतिशतभन्दा बढी भएको थियो । मुलुकमा गएको ठूलो बाढीपहिरो र डुबानका कारण कृषिक्षेत्रको वृद्धिदर खुम्चिएको अवस्थामा पनि त्यति ठूलो आर्थिक वृद्धि हुनु निश्चय पनि उत्साहप्रद थियो ।
पञ्चायतको बन्द किसिमको व्यवस्था अन्त्य गरी नीतिगत तथा प्रशासनिक खुलापन ल्याएपछि थोरै व्यावसायिक घरानामा सीमित मुलुकको औद्योगिक–व्यावसायिक क्षेत्रमा धेरै लगानीकर्ताको प्रवेश भयो । उनीहरूले विभिन्न नयाँनयाँ क्षेत्रमा लगानी विस्तार गरे । जलविद्युत्, बैङ्किङ, दूरसञ्चार, पर्यटन, सञ्चारलगायतका क्षेत्रको तीव्र विकास भयो । निर्यात असाधारण रूपमा बढ्यो । परिणामस्वरूप ठूलो आर्थिक वृद्धि सम्भव भयो । अहिले राजनीतिका कारण मुलुकको अर्थतन्त्र निकै प्रभावित भएको छ, नीतिगत स्थिरता छैन ।
(पूर्व अर्थमन्त्री महेश आचार्यसँगको कुराकानीबाट) वर्ष ८, अंक १५४, बुधवार ९ फागुन, २०६९