काठमाडौं । एसपिजि अटोमोबाइल्स प्रालिले आफ्नो अटोमोटिभ ब्रान्ड ओमोडा एन्ड जेइकोको नेपालमा पहिलो वार्षिकोत्सव मनाएको छ ।
काठमाडौंमा बिहीवार आयोजित कार्यक्रममा शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडा, शारडा ग्रुपका निर्देशक गौरव शारडा, शारडा ग्रुपका निर्देशक सन्दीपकुमार शारडा, एसपिजि अटोमोबाइल्सका जनरल म्यानेजर ज्ञानेन्द्रबहादुर चन्दलगायतको उपस्थिति रहेको थियो ।
यो ब्राण्डले नेपालमा विद्युतीय एसयुभीको क्षेत्रमा लोकप्रियता कमाएको कम्पनीको भनाइ छ ।
समारोहमा शारडा ग्रुपका निर्देशक गौरव शारडाले ओमोडा एन्ड जेइकोले छोटो समयमा नै नेपाली ग्राहकको विश्वास जित्न सफल भएको बताए । साथै उनले कम्पनी गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको पनि उल्लेख गरे ।
वार्षिकोत्सवको अवसरमा, कम्पनीले नयाँ ग्राहकहरूका लागि विशेष अफर पनि घोषणा गरेको छ । जसअनुसार ओमोडा एन्ड जेइकोका गाडीहरू रू. ५५ लाख ९९ हजारबाट उपलब्ध हुने बताइएको छ । यस्तै, गाडीको १ वर्षको निःशुल्क बीमा, ७ किलोवाटको निःशुल्क चार्जर र रू. ५ लाख १५ हजारसम्मका विभिन्न लाभसमेत उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । साथै, ग्राहकले ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी र १ वर्षको निःशुल्क सडक करको सुविधा पनि पाउनेछन् ।
सन् २०२४ को फेब्रुअरीमा नेपाली बजारमा प्रवेश गरेयता ओमोडा एन्ड जेइकोका ८०० भन्दा गाडी विक्री गरिसकेको कम्पनीले जानकारी दिएको छ ।
हाल, एसपिजि अटोमोबाइल्स ४३० किलोमिटर रेन्जको ओमोडा इ–फाइभ र ४०० किलोमिटर रेन्जको जेइको जे–सिक्स अफरोड एसयुभी विक्री गर्दै आएको छ । ओमोडा एन्ड जेइकोको देशभर १७ वटा सोरुम र ३० भन्दा बढी चार्जिङ स्टेसनहरू सञ्चालनमा छन् ।
एसपिजि अटोमोबाइल्स प्राइभेट लिमिटेड ओमोडा एन्ड जेइको अटोमोबाइल्स को. लिमिटेडको लागि नेपालका आधिकारिक वितरक हो ।