काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले लगानी विविधीकरणको क्रममा अब पानी उत्पादन र अपार्टमेन्ट निर्माणमा समेत लगानी गर्ने भएको छ । हालसम्म कम्पनीले जलविद्युत् तथा सौर्य ऊर्जा परियोजना निर्माण तथा सञ्चालन गर्दै आएको छ ।
कम्पनीले १ अर्ब ३५ करोड रुपैयाँ लगानीमा अपि स्प्रिङ लिमिटेड नामक कम्पनी स्थापना गरेर ‘अपि’ ब्रान्डमा पानी बजारमा ल्याउने तयारी गरेको हो । दार्चुलामा घट्टेगाडको पानी प्रशोधन गर्न प्लान्ट स्थापना गरेर आर्थिक वर्ष २०८१/८२ देखि उत्पादन गर्ने कम्पनीको लक्ष्य छ । मिनरल वाटर र प्रोसेस्ड वाटर गरी दुई प्रकारको पानी उत्पादन गर्ने तयारी रहेको कम्पनीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
यसैगरी कम्पनीले ललितपुरको झम्सीखेलमा १ अर्ब २० करोड रुपैयाँ लगानीमा अपार्टमेन्ट निर्माण गर्ने तयारी गरेको छ । कम्पनीले २१ करोड रुपैयाँ लगानीमा अपि इन्फ्रा लिमिटेड स्थापना गरेर अपार्टमेन्ट निर्माण गर्न ३ रोपनी जग्गा खरीद समेत गरिसकेको छ । १० तलाको अपार्टमेन्टमा ४५ ओटा सुविधासम्पन्न युनिट हुनेछ ।
अपार्टमेन्ट निर्माण गर्न कम्पनीको ‘रिजर्भ’ले नै पुग्ने र थप ऋण वा हकप्रद शेयरको आवश्यकता नपर्ने कम्पनीको भनाइ छ । निर्माण सम्पन्न भएपछि अपार्टमेन्टबाट २० करोडदेखि ३० करोड रुपैयाँ आम्दानी हुने कम्पनीको प्रक्षेपण छ ।
कम्पनीले दार्चुलाको नौगड गाढ नदीको पानी उपयोग गरी ८ दशमलव ५ मेगावाट क्षमताको नौगड गाढ जलविद्युत् आयोजनाबाट आफ्नो व्यावसायिक यात्रा शुरू गरेको थियो । कम्पनीले अहिले ६२ दशमलव ५ मेगावाटका आयोजना निर्माण सम्पन्न गरिसकेको छ ।
अपि पावरले दार्चुलामै ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी विद्युत उत्पादन गरिरहेको छ, जुन हालसम्म सुदूरपश्चिमकै ठूलो जलविद्युत् आयोजना हो ।
कम्पनीले तीनओटा सोलार आयोजना पनि निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गरिरहेको छ । कम्पनीले ४ मेगावाट क्षमताको चन्द्रनिगाहपुर सोलार आयोजना, १ मेगावाटको ढल्केवर सोलार आयोजना र १ मेगावाटको सिमरा सोलार आयोजना निर्माण तथा सञ्चालन गरेको हो ।
नेपाल विद्युत् प्राधिकरणले सोलार आयोजना निर्माणका लागि गरेको टेण्डरमा पनि सहभागी भएर आगामी आर्थिक वर्षमा थप ३० मेगावाटको सोलार आयोजना बनाउने तयारी गरिएको अपि पावरले बताएको छ । कम्पनी आगामी दिनमा बिजुलीको व्यापार गर्ने योजनामा समेत रहेको बताइएको छ ।