काठमाडौं । पियोर इनर्जी नेपाल लिमिटेडले चैत २८ गतेदेखि निष्कासन गरेको आईपीओ खरीदका लागि आवेदन दिने चैत २ गते मंगलवार अन्तिम दिन रहेको छ । मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीले छिटो अवधिसम्म मात्र आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन तथा बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो ।
आम सर्वसाधारणका लागि कम्पनीले ११ लाख ९५ हजार २०० कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो । कम्पनीले पहिलो चरणको आईपीओ फागुन २० गतेदेखि चैत ५ गतेसम्म निष्कासन गरी चैत १५ गते बाँडफाँट गरेको थियो । कम्पनीले १ लाख ६० हजार कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्र बाँके जिल्लाका अयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि र१ लाख ४४ हजार कित्ता आईपीओ वैदेशिक रोजगार गरी रहेका नेपालीहरूका लागि बाँडफाँट गरेको हो । यी बाहेक पनि कम्पनीले कर्मचारीहरूका लागि २८ हजार ८०० कित्ता र सामूहिक लगानीकोषका लागि ७२ हजार कित्ता आईपीओ समेत बाँडफाँट गरिसकेको छ । आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताहरूले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाइन समेत आवेदनका लागि प्रयोग गर्न सक्नेछन् ।
यो कम्पनी सौर्य ऊर्जा उत्पादक कम्पनी हो । यस कम्पनीले दुई सौर्य विद्युत आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गर्दै आएको छ । १० मेगावाट क्षमताको सौर्य पि.भि विद्युत आयोजना ब्लक–१ बाट २०८० पुस ११ गतेदेखि र १० मेगावाट सौर्य पि.भि विद्युत आयोजना ब्लक –२ बाट २०८० साल वैशाख १८ गतेबाट व्यापारिक उत्पादन शुरू गरिएको हो । ८० करोड रुपैयाँ अधिकृत पूँजी रहेको कम्पनीको जारी पूँजी पनि ८० करोड रुपैयाँ नै रहेको छ । हाल कम्पनीको चुक्तापूँजी ६४ करोड रुपैयाँ रहेको छ । आईपीओ निष्कासन तथा बाँडफाँडपछि कम्पनीको चुक्तापूँजी ८० करोड रुपैयाँ कायम हुनेछ ।
यो कम्पनी हाल सञ्चित नोक्सानीमै रहेको छ । अघिल्ला तीन आर्थिक वर्षको वास्तविक वित्तीय विवरणलाई हेर्दा आर्थिक वर्ष ०७८÷७९ मा १९ लाख ६ हजार रुपैयाँ, ०७९÷८० मा ४१ लाख ३७ हजार रुपैयाँ र ०८०÷८१ मा २ करोड २६ लाख ९४ हजार रुपैयाँभन्दा बढी कम्पनी सञ्चित नोक्सानीमा रहेको देखिन्छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार भने कम्पनी २ करोड ३ लाख रुपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ । चालू आर्थिक वर्षभित्र सञ्चित नोक्सानी सुधारेर १ करोड १४ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण कम्पनीको छ । पछिल्लो वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ ९६ रुपैयाँ ४५ पैसा छ भने २ रुपैयाँ ७५ पैसा प्रतिशेयर नोक्सानीमा छ ।