काठमाडौं। पोखरा फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रकाश गुरुङ नियुक्त भएका छन् । फागुन २६ गते बसेको कम्पनीको सञ्चालक समितिको ५४७औं बैठकले गुरुङलाई कम्पनीको रिक्त रहेको सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । गुरुङलाई चैत १ गतेदेखि लागू हुनेगरी सीईओमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । उनको कार्यकाल दुई वर्षको हुनेछ ।
यसअघिका कम्पनीका सीईओ रविचन्द्र गुरुङ पदमुक्त भएका थिए । उनलाई माघ २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पदमुक्त गर्ने निर्णय गरेको थियो । त्यसपछि माघ २३ गतेदेखि लागू हुनेगरी कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत राजुमोहन भट्टराईलाई कायम मुकायम सीईओको जिम्मेवारी प्रदान गरिएको थियो । सीईओ गुरुङसँग बैंकिङ क्षेत्रको दुई दशकभन्दा बढीको अनुभव छ । यसअघि उनी ग्रीन डेभलपमेण्ट बैंक लिमिटेडको डेपुटी सीईओ थिए ।