धनगढी (अस) । नेपाल राष्ट्र बैंक, धनगढीले सुदूरपश्चिम प्रदेशका १० स्थानबाट नयाँ नोट सटहीको व्यवस्था गरेको छ । राष्ट्र बैंक, वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडमा नोट सटहीका लागि नोट कोषको व्यवस्था गरिएको छ ।
प्रदेशभित्र ९ जिल्लामा रहेका राष्ट्र बैंकका नोट कोषबाट नयाँ नोट सटहीको व्यवस्था मिलाइएको राष्ट्र बैंक, धनगढीका प्रमुख निश्चल अधिकारीले बताए । सबै जिल्लामा गरी १० स्थानबाट नयाँ नोट साट्न सकिने उनले जानकारी गराए ।
नयाँ नोट सटही आइतवारदेखि शुरू गरिएको राष्ट्र बैंक धनगढीले बताएको छ । राष्ट्र बैंकले व्यवस्था गरेको नोट कोषबाहेक अन्य स्थानबाट नोट सटही गर्न पाइने छैन । नोट सटही धनगढी, टीकापुर, दार्चुला, बझाङ, बैतडी, डोटी, डडेल्धुरा, बाजुरा, अछाम र कञ्चनपुरमा रहेका राष्ट्र बैंकका नोट कोषबाट व्यवस्था गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
अघिल्ला वर्षभन्दा यो वर्ष नोट सटहीका लागि सर्वसाधारणलाई पायक पर्ने स्थानमा नोट कोष स्थापना गरिएकाले सहज रूपमा समयमै नयाँ नोट प्राप्त गर्न सकिने प्रमुख अधिकारीले बताए । उनले प्रदेशका ८८ ओटै स्थानीय तहमा बैंकको सेवा विस्तारको चरणमा रहेको बताए । राष्ट्र बैंकले तोकिएका बैंकबाहेक अरूलाई नोट सटहीको अधिकार दिएको छैन ।
असोज १७ गतेसम्म राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने व्यवस्था गरेको छ । नयाँ नोट एक जनाले बढीमा रू. १८ हजार ५०० सम्म पाउनेछन्, जसमा ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोट साट्न मिल्छ । नोट सटही शुरू भएको पहिलो दिन पनि धनगढीस्थित राष्ट्र बैंकमा आइतवार बिहानैदेखि भीड लागेको छ । नयाँ नोटसहित खुद्राका लागि राष्ट्र बैंकले धनगढीमा नयाँ काउन्टर सञ्चालनमा ल्याएको छ । धनगढीमा तीन काउन्टरमार्फत नोट सटहीको व्यवस्था गरिएको राष्ट्र बैंक धनगढीका प्रमुख अधिकारीले बताए ।