- शेयर बजारमा बढ्दो युवा आकर्षण
- टिफिन टाइम’मा ब्रोकरकहाँ
- रिटायर्ड लाइफ’मा पनि शेयर बजार
प्रसङ्ग : एक
विज्ञान विषय पढेका रातोपुल निवासी दिननाथ सापकोटा अहिले कुनै जागीर गर्दैनन्, न त उनी जागीरका लागि कुनै निजी कम्पनी नै धाएका छन् । तर, उनलाई दैनिक व्यवहार चलाउन पैसाको भने कमी छैन । किनभने, उनले केही समय अघिदेखि शेयरमा लगानी गर्न थालेका हुन् । शेयर बजारमा सक्रिय उनलाई अहिले मासिक १५÷२० हजार रुपैयाँको चिन्ता छैन ।
प्रसङ्ग : दुई
वागबजार निवासी सजना शर्मा पनि आफूले गर्दै आएको जागीर छाडेर शेयरको कारोबारमा लागिन् । जागीर छाडे पनि उनी व्यस्त छिन् । अहिले जागीरको कल्पनासमेत हुँदैन उनलाई । बेरोजगार भए पनि घरखर्च चलाउन र केही ‘फुर्मास’का लागि आवश्यक पैसाका लागि श्रीमान्कै भर पर्नुपर्दैन उनलाई ।
पछिल्लो समय शेयर बजारमा मानिसको आकर्षण त बढेको छ नै । अझ त्यसमा युवाको आकर्षण भने लोभलाग्दो देखिन थालेको छ । माथिका यी उदाहरण त केही नमूना मात्र हुन् । आफ्नो हुँदाखाँदाको जागीर छाडेर शेयर कारोबारमा होमिएकाहरू अहिले आफ्नो जीवनलाई ‘पृथक्’ एवम् स्वतन्त्र किसिमले यापन गर्न सक्ने बाटोतर्फ लागेका छन् । मैले ‘किन त शेयर बजारप्रति तपाईंको आकर्षण ?’ भन्ने प्रश्न गर्न नपाउँदै लगानीकर्ता सापकोटाले भने, ‘कुनै एक निजी कम्पनीमा जागीर ग¥यो, समयको परिबन्ध, अन्य मानसिक तनाव आदिको झन्झट त छँदै छ । त्यसैले, ती झन्झट बेहोर्नुभन्दा शेयर बजारमा केही बुझेर लगानी ग¥यो भने त्यसबाट बढी फाइदा हुँदो रहेछ ।’ त्यसैले जागीरका लागि प्रयास नगरी शेयर कारोबारमा आफू लागेको उनले प्रतिक्रिया दिए ।
शर्माको प्रतिक्रिया सुन्ने हो भने पनि सापकोटाको भन्दा फरक छैन । उनी भन्छिन्, ‘अहिले धेरैजसो मानिस कुनै न कुनै कम्पनीमा जागीरे छन्, जागीरमा कति बाध्यात्मक परिस्थिति पनि आउन सक्छन्, तिनले मानिसलाई स्वतन्त्र हुन पक्कै पनि दिँदैनन् । त्यसैले, मैले जागीरको विकल्पका रूपमा शेयर कारोबारलाई रोजेकी हुँ ।’ सचेत भएर लगानी व्यवस्थापनका सामान्य नियम पालना गर्ने हो भने शेयरबाट घाटा बेहोर्नु नपर्ने उनको भनाइ छ ।
अहिले विशेषगरी गृहिणीहरू जागीरभन्दा पनि शेयर कारोबारमा आबद्ध हुने क्रम बढेको नेपाल स्टक हाउस (ब्रोकर नं १४)का सीईओ विनोद रिमाल बताउँछन् । ‘विशेषगरी घरमा श्रीमान्ले जागीर गर्ने र श्रीमतीचाहिँ शेयर कारोबारमा लाग्ने गरेका उदाहरण हामीकहाँ प्रशस्त छन्,’ उनले भने, ‘कतिपयले त जागीरसँगै शेयर कारोबारलाई समेत जोड दिन थालेका छन् ।’
‘रिटायर्ड लाइफ’मा शेयर व्यापार
लामो जागीरे जीवनपछि ‘रिटायर्ड लाइफ’ बिताउनेलाई पनि शेयर बजारको आकर्षण तानेको देखिन्छ । त्यति मात्र होइन, अफिसमा ‘टिफिन टाइम’को सदुपयोग शेयर ब्रोकरकहाँ पुग्नेको सङ्ख्या पनि कम छैन । कलेज पढाउनेहरू त पहिलेदेखि नै शेयर बजारमा लाग्दै आएका छन् । अर्थशास्त्र र व्यवस्थापनका मात्र होइन, अन्य विषयमा डिग्री गरेका युवा पनि अहिले शेयर कारोबारमा लागेका उदाहरण प्रशस्तै छन् । ‘अहिलेका कतिपय युवामा जागीर गरे मासिक ४०/५० हजार रुपैयाँ मात्रै कमाइएला । तर, यदि सचेत भएर शेयर कारोबार गर्ने हो भने दैनिक ४/५ हजार रुपैयाँ कमाउन सकिन्छ भन्ने बुझाइ छ,’ रिमालले भने, ‘मार्केटको मूभमेण्ट हेरेर तत्कालै ‘डिसिजन’ गर्नुपर्ने भएकाले पनि कतिपय युवा पूर्णकालीन रूपमै शेयर कारोबारमा लागेका छन् ।’
कम समयमा उच्च प्रतिफल
शेयरमा लगानी गर्दा कम समयमै पनि प्रतिफल उच्च हुने अनुमानमा शेयर बजारमा मानिसको आकर्षण बढेको हुन सक्छ । त्योसँगै स्वतन्त्र र आत्मनिर्भर भविष्यको परिकल्पना पनि शेयर बजारमा युवा आकर्षण बढेको हुन सक्ने कतिपयको भनाइ छ । निजी कम्पनीमा जागीर गर्दा उपदान, पेन्सन आदिको व्यवस्था नहुने तर तनाव धेरै हुने भएकाले पनि धेरैजसो युवा शेयर बजारमा लागेको हुन सक्ने उनीहरू बताउँछन् । साथै कतिपय युवा शेयर बजारको लगानीलाई जीवनको उत्तराद्र्धका लागि उपयोग गर्ने मनसायमा पनि हुन्छन् । त्यति मात्र नभई वर्तमानमा पनि शेयर बजारमा गरिएको लगानीले स्पष्ट मुनाफा दिन सक्ने उनीहरूको भनाइ छ ।
फुर्सदको सदुपयोग
जागीर एवम् विभिन्न पेशामा आबद्ध मानिसहरूले अहिले आफ्नो फुर्सदको समय सदुपयोग गर्ने माध्यमका रूपमा शेयर व्यापारलाई बनाउन थालेका छन् । यसले मानिसलाई एकातिर आफ्नो जागीरमा बाधा पुगेको छैन भने अर्कातिर उनीहरूको आर्थिक अवस्थासमेत सबल बन्दै गएको छ । ‘शेयर व्यापारमा कतिपय मानिस यस्ता पनि छन्,’ रिमालले भने, ‘जसले आफ्नो जागीरलाई समेत अघि बढाई फुर्सदको समयमा शेयर व्यापारमा लागेर पनि ठूलो आर्थिक लाभ लिइरहेका छन् ।’ यसबाट उनीहरूले वर्तमानसँगै भविष्यलाई पनि उज्ज्वल पारेको उनको भनाइ छ ।
शेयर ‘गिफ्ट’ दिने संस्कृति
यससँगै मानिसले अहिले आफ्ना सन्तान एवम् आफन्तलाई विभिन्न शुभकार्य (विवाह, जन्मदिन, वैवाहिक वार्षिकोत्सव, व्रतबन्ध) आदि विशेष अवसरमा ‘गिफ्ट’का रूपमा शेयर दिने संस्कृति विकास भएको छ । यसले आफ्ना सन्तान एवम् आफन्तको उज्ज्वल भविष्य साकार बनाउन सघाएको त छ नै । साथै, नयाँ पुस्तासमेत शेयर बजारमा प्रवेश गर्नमा पनि यसले थप सहज बनाएको छ ।