काठमाडौं । विदेशमा लगानी गर्न चाहने सूचनाप्रविधि (आईटी) उद्योगले उक्त प्रयोजनका लागि अधिकतम १० लाख अमेरिकी डलर बराबरको विदेशी मुद्रा बाहिर लैजान सक्ने भएका छन् ।
नेपाल राष्ट्र बैंकले बुधवार विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन नियमावली, २०७८ मा चौथो संशोधन गर्दै आईटी कम्पनीहरूलाई विदेशमा लगानी गर्ने सीमा तोकेको हो ।
‘विदेशमा लगानी गर्न प्राप्त गर्ने विदेशी मुद्राको अधिकतम सीमा उक्त उद्योगले पछिल्लो ३ आर्थिक वर्षमा सूचनाप्रविधिसम्बन्धी सेवा निर्यात गरी आर्जन गरेको औसत विदेशी मुद्राको ५० प्रतिशत वा अमेरिकी डलर १० लाख वा त्यस बराबरको विदेशी मुद्रासम्म (दुईमध्ये न्यून) हुनेछ,’ संशोधित विनियमावलीमा भनिएको छ । विदेशमा लगानी गर्न चाहने यस्ता उद्योगले कम्तीमा पछिल्ला ३ आर्थिक वर्षमा सूचनाप्रविधिसम्बन्धी सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गरेको हुनुपर्ने शर्त पनि विनियमावलीमा राखिएको छ ।
औद्योगिक व्यवसायसम्बन्धी प्रचलित कानूनबमोजिम सूचनाप्रविधि उद्योगले आफ्नो चुक्ता पूँजीको सीमाभित्र रहने गरी सूचना प्रविधिसम्बन्धी क्षेत्र/उद्योगमा विदेशमा लगानी गर्न आवश्यक पर्ने विदेशी मुद्रा सटही सुविधा राष्ट्र बैंकबाट प्राप्त गर्न सक्ने गरी विनियमावली संशोधन भएको हो । यसअघि सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत नेपालीलाई विदेशमा लगानी गर्न बाटो खोलेको थियो ।
नेपाली व्यवसायी वा कम्पनीलाई विदेशमा विक्री शाखा वा अर्धप्रशोधित सामग्री निर्यात गरी प्रशोधन कारखाना स्थापना गर्न अनुमति दिइने बजेटमा उल्लेख छ । यसका लागि निर्यातबाट हुने वार्षिक आम्दानीको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न पाउने कानूनी व्यवस्था र यस्तो व्यवसायबाट आर्जन हुने मुनाफाको ५० प्रतिशत देशभित्र फिर्ता गर्नुपर्ने व्यवस्था गरिने बजेटमा उल्लेख गरिएको छ । यसअघि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले पनि नेपालीलाई विदेशमा लगानी गर्न बाटो खोल्नुपर्ने सुझाव दिएको थियो ।