काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गतका कार्यक्रमहरू पूर्ण रूपमा कार्यान्वयन हुने स्पष्ट पारेको छ ।
अमेरिकाले आफ्नो अन्तरराष्ट्रिय सहयोग संस्था एमसीसीलाई निरन्तरता दिएसँगै नेपालमा एमसीसी कम्प्याक्ट पूर्ण रूपमा कार्यान्वयन हुने बताएको हो । उक्त सहयोग र नेपालको आफ्नै केही स्रोत लगानी गरी ३१५ किलोमीटर लामो विद्युत् प्रसारण लाइन र सडक सुधारको काम गर्ने योजना छ । अमेरिकाले एमसीसीअन्तर्गत ५५ करोड अमेरिकी डलर दिने घोषणा गरेको छ भने नेपालले १९ करोड ७० लाख अमेरिकी डलर लगानी गर्नेछ ।
बुधवार काठमाडौंस्थित अमेरिकी दूतावासले एक विज्ञप्तिमार्फत जनाएअनुसार अमेरिकाले अन्तरराष्ट्रिय सहायताको समीक्षाका लागि ९० दिन एमसीसीको सहायता स्थगित गर्दा गत फेब्रुअरीमा अमेरिकाका सेक्रेटरी अफ स्टेट मार्को रुबियोले नेपालको एमसीसी कम्प्याक्टलाई विशेष छूट दिने प्रस्ताव स्वीकृत गरेका थिए ।
‘सोही छूटअनुसार एमसीसी नेपाल कम्प्याक्टलाई पूर्ण कार्यान्वयनसहित निरन्तर रहने अधिकार प्राप्त भएको छ,’ दूतावासले भनेको छ । ‘अमेरिकी दूतावास यो समीक्षाको रचनात्मक परिणाम ल्याउन सरोकारवालाहरूसँग निरन्तर छलफलमा रहनेछ ।’
यस सम्झौताअन्तर्गत भइरहेका कार्यहरू अमेरिका र नेपाल सरकारको प्राथमिकतासँग मिल्ने सुनिश्चित गर्न, पारदर्शिता, सुशासन कायम गर्न, प्रभावकारी डेलिभरी र विवेकपूर्ण जोखिम व्यवस्थापन सुनिश्चित गर्न एमसीसीले अर्थ मन्त्रालय र एमसीए नेपालसँग निकटमा रहेर काम गरिरहेको दूतावासले बताएको छ ।
यसअघि विभिन्न अन्तरराष्ट्रिय सञ्चारमाध्यमले एमसीसीका कर्मचारीसँग कुराकानीको हवाला दिँदै यो सहायता संस्था बन्द हुन सक्ने समाचार लेखेका थिए । तर, एमसीसीले हालै आफ्नो आर्थिक वर्ष (आव) २०२६ का लागि निकै घटाएर बजेट प्रस्ताव गरेपछि यसको निरन्तरताको संकेत मिलेको थियो । आव २०२५ को लागि ९३ करोड डलर बजेट प्रस्ताव गरेकोमा २०२६ को लागि २२ करोड ४० लाख डलर मात्र प्रस्ताव गरिएको छ ।
नेपाल सरकारले पनि अमेरिकी सहायताले निरन्तरता पाउने अनुमान गररै आगामी आव २०८२/८३ को बजेटमा एमसीसीबाट ५ अर्ब ६८ करोड अनुदान आउने अनुमान गरेको छ । उक्त अनुदान सोझै भुक्तानी हुने बजेटमा उल्लेख गरिएको छ ।
चालू आव २०८१/८२ मा एमसीसीबाट ९ अर्ब ९० करोड रुपैयाँ अनुदान प्राप्त हुने सरकारले अनुमान गरेको छ ।
यसअन्तर्गत हालसम्म कति प्राप्त भयो, सरकारी अधिकारीहरूले वास्तविकता बाहिर ल्याएका छैनन् ।
एमसीसीको सहयोगमा नेपाल र भारतबीच थप विद्युत् आदानप्रदानका लागि धेरै महत्त्वपूर्ण मानिएको बुटवल–गोरखपुर प्रसारण लाइनअन्तर्गत नेपालतर्फको १८ किलोमीटर खण्डको निर्माण कार्य अघि बढेको थियो । तर, अमेरिकी सहयोग जारी रहने/नरहने निश्चित नहुँदा निर्माणको काम ठप्प रहेको उक्त परियोजनाका एक उच्च अधिकारीले यसअघि आर्थिक अभियानलाई बताएका थिए । उनका अनुसार भारततर्फको भागमा काम धमाधम अघि बढिरहेको छ ।
एमसीसी अमेरिकामा पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुसले शुरू गरेको कार्यक्रम हो । विश्वभर गरीबी घटाउन र आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्न भन्दै सन् २००४ मा उनले एमसीसी स्थापना गरेका थिए । एमसीसीले विकासशील मुलुकसँग साझेदारी गर्दै विद्युत् आपूर्ति, सडक निर्माणजस्ता पूर्वाधारमा लगानी गर्दै आएको छ । नेपालले २०७४ सालमै एमसीसी कम्प्याक्ट सम्झौतामा हस्ताक्षर गरेको थियो । तर, उक्त सम्झौता नेपालमा निकै विवादित बन्दा २०७८ को फागुन १५ गते १२ बुँदे व्याख्यात्मक घोषणासहित संसद्ले एमसीसी कम्प्याक्ट सम्झौता अनुमोदन गरेको थियो । त्यसपछि एमसीसीको खास कार्यान्वयन डेढ वर्षअगाडि शुरू भएको थियो ।