वीरगञ्ज । आयातनिर्यात कारोबारका हिसाबले प्रमुख नाकाका रहेको आईसीपी भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव) २०८१/८२ को ११ महीनामा १ खर्ब ५८ अर्ब ६० करोड रुपैयाँ राजस्व उठाएको छ । यो रकम लक्ष्यको करीब ८० प्रतिशत हो ।
यो भन्सारलाई चालु आवको असारदेखि जेठसम्मको ११ महीनामा १ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ भन्सार राजस्व संकलनको लक्ष्य तोकिएको थियो ।
बितेको जेठ महीनामा मात्रै भन्सारले १८ अर्ब १८ करोड रुपैयाँ राजस्व उठाएको आईसीपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले बताए । लामिछानेका अनुसार यो रकम लक्ष्यको ८७ दशमलव ९१ प्रतिशत हो ।
आईसीपी भन्सारलाई जेठ महीनाका लागि २० अर्ब ७३ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएको थियो ।
भन्सारले डिजेल र पेट्रोलबाट सर्वाधिक राजस्व संकलन गरेको छ। मोटरसाइकल, स्टिल तथा आइरन पाइप, कपडा, इन्जिन पार्ट्स, चकलेट, प्लाष्टिकका सामाग्री र फलफूलको आयात बढी भएको भन्सारको तथ्यांकले देखाएको छ ।
राजस्व योगदानका आधारमा आयातित शीर्ष २० वस्तुको सूचीमा यी उत्पादन परेका छन् । अधिकांश आयात भारतबाट भएको भन्सार अधिकारीहरूले बताएका छन् ।