चितवन । चितवनका सात स्थानीय तहमध्ये सबैभन्दा बढी अद्यावधिक बेरुजु भरतपुरमा देखिएको छ भने सबैभन्दा कम बेरुजु कालिका नगरपालिकाको देखिएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदनमा २०८०/८१ सम्ममा कालिका नगरपालिकाको कुल बेरुजु ५ करोड ६६ लाख रुपैयाँ रहेको छ । नगरपालिकाको गतवर्षको बेरुजु १ करोड ४६ लाख देखिएको छ ।
उक्त वर्ष कालिकाले अघिल्लो वर्षको १३ लाख रुपैयाँ बेरुजु फर्छ्योट गरेको थियो । आर्थिक वर्ष २०७९/८० मा यस नगरपालिकाको बेरुजु १ करोड ७७ लाख रुपैयाँ थियो । आर्थिक वर्ष २०७४/७५ नगरपालिका स्थापना हुँदा बेरुजु १० करोड २८ लाख रुपैयाँ थियो । त्यतिखेर कालिका नगरपालिकाको बेरुजु जिल्लाका अन्य स्थानीय तहको भन्दा धेरै थियो ।
भरतपुर महानगरपालिकाको गत आर्थिक वर्षसम्मको बेरुजु १ अर्ब ३ करोड ५३ लाख रुपैयाँ देखिएको छ । आर्थिक वर्ष २०७९/८० मा भरतपुर महानगरपालिकाको बेरुजु ९३ करोड ५० लाख रुपैयाँ थियो । गत आर्थिक वर्षमात्र महानगरको बेरुजु १० करोड २ लाख देखिएको थियो । जब कि आर्थिक वर्ष २०७९/८० मा बेरुजु ५ लाख रुपैयाँ मात्र थियो ।
गतवर्षको मात्र बेरुजुमा जिल्लाका सबै नगरपालिकाभन्दा राप्ती नगरपालिकाको बढी छ । राप्तीको बेरुजु एकै वर्षमा १६ करोड ७३ लाख देखिएको छ । राप्तीको गत वर्षसम्मको अद्यावधिक बेरुजु ३६ करोड ३ लाख रुपैयाँ छ । आर्थिक वर्ष २०८०/८१ मा बेरुजु सबैभन्दा कम भने रत्ननगर नगरपालिकाको छ । रत्ननगरको गत आर्थिक वर्षको बेरुजु ४८ लाख रुपैयाँ देखिएको छ ।
सो नगरपालिकाको गतवर्षसम्मको अद्यावधिक बेरुजु १० करोड २ छ । चितवनको खैरहनी नगरपालिकाको अद्यावधिक बेरुजु १२ करोड ८५ लाख रुपैयाँ छ । यस नगरपालिकाको गत वर्षको मात्रै बेरुजु १ करोड १६ लाख छ । माडी नगरपालिकाको बेरुजु गतवर्ष २ करोड १४ लाख रहेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ । यस नगरपालिकाको गत वर्षसम्मको अद्यावधिक बेरुजु ४८ करोड १४ लाख रुपैयाँ छ । यसैगरी गत आवसम्ममा इच्छाकामना गाउँपालिकाको अद्यावधिक बेरुजु १० करोड ८० लाख रुपैयाँ रहेको छ ।