काठमाडौं । अघिल्ला सात कारोबार दिन निरन्तर घटेको धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बुधवार (आज) भने बढेर बन्द भएको छ ।
अघिल्लो कारोबार दिनको तुलनामा यो दिन नेप्से परिसूचक शून्य दशमलव ६३ प्रतिशत अर्थात् १७ दशमलव २८ अंकले बढेको हो । यो दिन २ हजार ७४५ दशमलव ५८ विन्दुसम्म पुगेको नेप्से परिसूचक २ हजार ७१७ दशमलव २९ विन्दुसम्म झरेको थियो । अन्तिममा २ हजार ७३६ दशमलव ४८ विन्दुमा नेप्से बन्द भएको हो ।
निरन्तर घटेको बजारबाट सोमवार अल्पकालीन लगानीकर्ता पुनः धितोपत्र खरीदमा सक्रिय भएको ब्रोकरहरूले बताएका छन् । पछिल्लो समय अल्पकालीन लगानीकर्ताको कारण बजारको गति लामो समय टिक्न नसकेको बुझाइ समेत ब्रोकरहरूको छ ।
बुधवार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन ८ अर्ब ३९ करोड ११ लाख ४९ हजार रुपैयाँभन्दा बढीको १ करोड ५५ लाख ९६ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा आज ८ अर्ब २३ करोड ५२ लाख ६८ हजार रुपैयाँभन्दा बढीको २ करोड २९ लाख ४१ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो । कारोबार रकम घटेपनि कारोबार कित्ता भने यो दिन बढेको छ ।
कुल कारोबार रकममा माछापुच्छ्रे बैंकको संस्थापक शेयरले सर्वाधिक हिस्सा ओगटेको छ । यस दिन ८१ करोड ३६ लाख ५२ हजार रुपैयाँभन्दा बढीको माछापुच्छ्रे बैंकको संस्थापक शेयर कारोबार भएको हो । कम्पनीको संस्थापक शेयर प्रतिकित्ता १०० रुपैयाँमा नै कारोबार भएको हो ।
बढेको बजारमा १४६ कम्पनीको धितोपत्र मूल्य बढेको छ भने ८८ कम्पनीको धितोपत्र मूल्य घटेको छ । यस दिन १० कम्पनीको धितोपत्र मूल्य भने स्थिर रहेको छ ।
पिपुल्स हाइड्रोपावरको शेयर मूल्य बुधवार सर्वाधिक ९ दशमलव ७९ प्रतिशत बढ्दा वीन नेपाल लघुवित्तको शेयर मूल्य भने सर्वाधिक १० प्रतिशत घटेको छ ।
अघिल्लो कारोबार दिन ४५ खर्ब १५ अर्ब ११ करोड ५० लाख रुपैयाँ रहेको कुल बजार पूँजीकरण बुधवार ४५ खर्ब ४३ अर्ब ८१ करोड १८ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिनभन्दा बुधवार कुल बजार पूँजीकरण २८ अर्ब ६९ करोड ६८ लाख रुपैयाँले बढेको हो ।
बुधवारको कारोबारमा विकास बैंकको परिसूचक शून्य दशमलव ३३ प्रतिशत र लघुवित्तको परिसूचक शून्य दशमलव २७ प्रतिशत घटेको छ । यीबाहेक अन्य समूहगत परिसूचक भने बढेका छन् । बैंकिङको शून्य दशमलव ५३ प्रतिशत, वित्तको शून्य दशमलव शून्य २ प्रतिशत, होटल तथा पर्यटनको शून्य दशमलव ६४ प्रतिशत, जलविद्युतको शून्य दशमलव ८५ प्रतिशत, लगानीको १ दशमलव ७६ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ६४ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव १८ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव १० प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ४० प्रतिशत, अन्यको १ दशमलव ५७ प्रतिशत र व्यापारिकको शून्य दशमलव २१ प्रतिशत परिसूचक बढेको हो ।
परिसूचकमा भएको बृद्धिलाई हेर्दा अन्य समूहका लगानीकर्ताले यस दिन सर्वाधिक कमाएका छन् ।