चितवन। सडक डिभिजन कार्यालय, भरतपुरले सडक मापदण्डभित्रका होर्डिङ बोर्ड लगायत संरचना अवरोध हटाउन सातदिने सूचना जारी गरेको छ । सडक डिभिजनले बिहीवार एक सूचना जारी गरी पुलचोक–गोन्द्राङ ६ लेन सडकमा राखिएका अनधिकृत बोर्ड, सवारीसाधन पार्किङ, ग्यारेज, टायरहाउस, वाशिङ सेन्टर, अटो स्ट्याण्ड लगायत हटाउन अनुरोध गरेको हो ।
पुलचोक–गोन्द्राङ ६ लेन सडक विस्तारको काम अन्तिम चरणमा पुगेको छ । सडक विस्तारको काम थाल्नुअघि सडक डिभिजनले सडक सीमाभित्रका भौतिक संरचना भत्काएको थियो ।
सडक मापदण्डभित्र राखिएका सामग्री तथा संरचना सात दिनभित्र आफै नहटाए सार्वजनिक सडक ऐन, २०३१ बमोजिम कारबाही हुने सडक डिभिजन, भरतपुरका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले बताए । साथै राष्ट्रिय राजमार्गको सडक सीमाभित्र राखिएका अनधिकृत बोर्डलगायत हटाउँदा लाग्ने खर्च पनि सम्बन्धित व्यक्ति एवम् संस्थाबाट असुलउपर गरी आवश्यक कारबाही गरिने चेतावनी उनले दिए ।
‘सडक सीमा कायम गरिएको ठाउँमा ठूला होर्डिङ बोर्ड राखिएका छन् । पैदलयात्रीका लागि बनाइएको फूटपाथमा सवारीसाधन पार्किङ गरिएको पाइएको छ,’ उनले भने, ‘त्यस्ता अनधिकृत कार्य नगर्न शुरूमा सातदिने सूचना जारी गरेका हौं । सात दिनभित्र आफै नहटाए हामी हटाउँछौं ।’
पुलचोक–गोन्द्राङ ६ लेन सडक विस्तारको काम अन्तिम चरणमा पुगेको छ । सडक विस्तारको काम थाल्नुअघि सडक डिभिजनले सडक सीमाभित्रका भौतिक संरचना भत्काएको थियो । विस्तारको काम नसकिँदै विभिन्न माध्यमबाट पुन: सडक मिच्ने काम भएपछि सडक डिभिजनले सूचना जारी गरी अनधिकृत कार्य नगर्न अनुरोध गरेको हो ।