काठमाडौं । मर्जर प्रक्रियाले पूर्णता नपाउँदा समाज लघुवित्तका शेयरधनीहरूको सम्पत्ति दुई वर्षभन्दा बढी समयदेखि बन्धक बनेको छ । समाज लघुवित्तले सर्वसाधारणमा बाँडफाँट गरेको आईपीओ दोस्रो बजारमा सूचीकृत गराए पनि मर्जरका कारण कारोबारमा आउन सकेको छैन ।
कम्पनीले २०७७ साल भदौ ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरी भदौ १५ गते बाँडफाँट गरेको थियो । सोही वर्ष असोज ८ गते धितोपत्र दोस्रो बजारमा शेयर सूचीकृत गराएको कम्पनीको मर्जर प्रयोजनका लागि असोज ८ गतेदेखि नै शेयर कारोबार रोक्का रहेको छ ।
समाज लघुवित्तले २०७७ साल असोज ५ गते स्वस्तिक लघुवित्त वित्तीय संस्थासँग मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता गरेको थियो । उक्त सम्झौताले दुई वर्ष पार गरिसक्दासमेत पूर्णता पाउन सकेको छैन । दुवै कम्पनीले मर्जर प्रक्रिया पूरा गराउनका लागि नेपाल राष्ट्र बैंकमा सम्पूर्ण कागजात पेश गरिसकेको जानकारी दिएका छन् ।
स्वस्तिक लघुवित्तका प्रमुख कार्यकारी अधिकृत धिरेन्द्रलाल कर्णले समाज लघुवित्तसँग मर्जरमा जान कुनै समस्या नभएको र यसका लागि नेपाल राष्ट्र बैंकको निर्देशन कुरेर बसेको बताए । बीचमा भएका असन्तुष्टिका कुरा नेपाल राष्ट्र बैंकसमक्ष समेत पेश भएकाले आगामी निर्णय नेपाल उसको निर्देशनबमोजिम हुने कर्णले बताए ।
समाज लघुवित्तका प्रमुख कार्यकारी अधिकृत किशोरी महतोले पनि मर्जर प्रक्रिया पूरा गर्नका लागि आवश्यक सम्पूर्ण कागजात नेपाल राष्ट्र बैंकमा पेश गरिसकेको जानकारी दिँदै राष्ट्र बैंकको निर्देशनको पर्खाइमा बसेको बताए ।
दोस्रो बजारमा सूचीकृत समाज लघुवित्तको विषय शेयर कारोबार रोक्कासँग पनि जोडिएकाले हालको व्यवस्थाअनुसार कारोबार फुकुवाका लागि कम्पनीको तर्फबाट आवश्यक काम भइसकेको बताए । उनले १५ दिनअघि नै नेपाल स्टक एक्सचेन्ज तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा आवश्यक प्रक्रिया पूरा गरे पनि शेयर कारोबार हालसम्म फुकुवा नभएकोमा नेप्सेसँग प्रश्न गरेका छन् ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थासँगै बीमा र जलविद्युत् क्षेत्रमा समेत मर्जर तथा प्राप्तिको लहर चलेको छ । बीमा कम्पनीहरूमा पूँजी वृद्धिको दबाबका कारण मर्जर तथा प्राप्तिको लहर देखिएको हो । नयाँ व्यवस्थाले आगामी दिनमा मर्जर तथा प्राप्ति प्रक्रियामा जाने कम्पनीको शेयर कारोबार एकीकृत कारोबारपछि मात्र बढीमा १५ दिन रोकिनेछ ।