रूपन्देही । प्रदेश सरकार मातहतमा रहेका रूपन्देहीका प्रमुख दुई अस्पताल सुधारोन्मुख भएका छन् । यसअघि केन्द्र सरकारको मातहतमा रहेका लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल र भीम अस्पताल, भैरहवामा व्यापक सुधारको संकेत देखिएको हो । प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताललाई गौरवको आयोजनाको रूपमा राखेको छ ।
दुवै अस्पताललाई अत्याधुनिक बनाउने गरी गुरुयोजना निर्माण भएको छ । प्रादेशिक अस्पतालको १० तले नयाँ भवन बनाउने गरी प्रदेश सरकारले गुरुयोजना निर्माणको काम गरिरहेको छ । गुरुयोजना अनुसार अस्पतालको संरचना निर्माणका लागि ७ अर्बको लागत अनुमान गरिएको छ । ३ महीनामा डीपीआरको काम सकेर डेन्टर गरिसक्ने र ३ वर्षभित्र अस्पतालको निर्माण सक्ने लक्ष्यमा सरकार जुटेको सामाजिक विकास मन्त्रालयका एक अधिकारीले बताए ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले नयाँ भवन निर्माण सम्पन्न भएपछि अस्पताल १२ सय शय्याको हुने बताए । भवनको अगाडिको भागमा अत्याधुनिक ओपीडी, इमर्जेन्सी, इन्डोर सर्भिस कक्ष रहनेछन् । साथै विशिष्टीकृत ग्यास्ट्रो, न्यूरो, कार्डियो लगायत सबै बिशेषज्ञ सेवा प्रदान गरिने पनि मेसु खनालले जानकारी दिए । भवनको माथि हेलिप्याड समेत रहने उल्लेख गरिएको छ । हेलिप्याडबाट सीधै इमर्जेन्सी कक्षमा झर्ने लिफ्ट समेत बन्नेछ ।
यता, भैरहवामा रहेको भीम अस्पतालको गुरुयोजना पनि तयार भएको छ । करीब ३६ करोडको लागतमा उक्त अस्पतालको नयाँ भवन निर्माण गरिने भएको हो । १९९० सालमा स्थापना भएको जिल्ला अस्पताल अत्याधुनिक सुविधासम्पन्न अस्पतालको रूपमा विकास हुनेछ ।
अस्पताल १ सय शय्याको हुनेछ । भवनको माथि हेलिप्याड समेत रहने गुरुयोजनामा उल्लेख छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले अब बन्ने जिल्ला अस्पताल अत्याधुनिक सुविधा सहितको हुने बताए । अस्पतालका सूचना अधिकारी डा. गोपाल उपाध्यायले विशेषगरी भैरहवामा उपचारका लागि आउने रूपन्देहीका दक्षिणी भेगका बिरामीलाई लक्षित गरेर अस्पताललाई सुविधासम्पन्न बनाउन लागिएको जानकारी दिए ।
गुरुयोजना निर्माणपछि यस आर्थिक वर्षभित्रै प्रदेश नं ५ सामाजिक विकास मन्त्रालयले टेन्डर आह्वान गरेर निर्माण कार्य गर्नेछ । अस्पताल निर्माण शुरू भएपछि २ वर्षभित्र सक्ने लक्ष्य छ ।
१९९० सालमा ३ शय्या सहित स्थापनामा भएको अस्पताल २०३५ सालमा १५ शय्यामा स्तरोन्नति भएको थियो । यस्तै २०४० सालमा २५ शय्यामा स्तरोन्नति भएको हो । पछिल्लो समय २५ शय्याको स्वीकृत भए पनि अस्पताल व्यवस्थापन समितिले ६८ शय्यामा अस्पताल सञ्चालन गर्दै आएको छ ।