विराटनगर । कोभिड–१९ महामारीका कारण समस्यामा रहेका छाला उद्योगहरूले केही वर्षयता यसको निर्यात बढाएका छन् । तर, देशभित्र काँचो छाला उत्पादन घट्दा तयारी छालाजन्य वस्तुको उत्पादनमा असर परिरहेको उद्योगीहरूको गुनासो छ ।
विराटनगर भन्सार कार्यालयको तथ्यांकअनुसार यो नाकाबाट छालाको निकासी अघिल्ला वर्षहरूको तुलनामा बढ्दै गएको छ । कोरोनाको प्रभाव कम हुँदै गएपछि आर्थिक वर्ष (आव) २०७७/७८ मा १० करोड ५९ लाख ४ हजार १९१ रुपैयाँ बराबरको ८ लाख २१ हजार ६२९ किलोग्राम छाला विराटनगर भन्सार नाकाबाट भारतलगायत तेस्रो मुलुकमा निकासी भएको थियो ।
आव २०८०/८१ मा केही घटेर २१ करोड १७ लाख रुपैयाँ बराबरको १२ लाख २४ हजार ७९८ किलोग्राम सबै किसिमको तयारी छाला निकासी भएको छ । चालू आव २०८१/८२ को माघसम्ममा १० करोड ८० लाख ६५ हजार रुपैयाँ बराबरको ६ लाख ८५ हजार ४६२ किलोग्राम पशुचौपायाको तयारी छाला निकासी भएको तथ्यांक छ । विराटनगर भन्सार कार्यालयका अनुसार यो वर्ष अघिल्लो वर्षको तुलनामा छालाको निकासी बढ्ने देखिएको छ ।
कोभिड–१९ पछि तुलनात्मक रूपमा छाला निकासीमा सुधार आए पनि आव २०७४/७५ भएको निकासीको तुलनामा पछिल्ला वर्षहरूको निकासी निकै कम हो । उक्त आवमा ३७ करोड ६१ लाख १५ हजार रुपैयाँ मूल्यको ५१ लाख ३८ हजार ११९ वर्गफिट छाला निकासी भएको तथ्यांक छ । नेपालबाट भारत, चीन, इटाली, मेक्सिको, फ्रान्स, टर्की र ल्याटिन अमेरिकी देशमा प्रशोधित छाला निकासी गरिन्छ ।
कोभिड–१९ ले असर गरेको निर्यातमा केही सुधार आए पनि छाला उद्योगीहरूले देशभित्र कच्चा छाला पाउन संघर्ष गर्नुपरेको छ । विराटनगर र वीरगञ्जमा सञ्चालित १२ उद्योगलाई पछिल्लो समय कच्चा पदार्थसमेत अभाव हुन थालेको छ । उद्योगीहरूले पछिल्लो समय काँचो छाला पाइन छाडेको भन्दै अर्धप्रशोधित छाला आयात गरेर यहाँ भ्यालु एड गरी निकासी गर्न पाउनुपर्ने माग राख्दै आएका छन् । विराटनगर र वीरगञ्जका छाला उद्योगहरूले नेपालभित्र काँचो छाला संकलन गरी प्रशोधन गरेर निकासी गर्दै आएका छन् ।
नेपाल छाला उद्योग संघका केन्द्रीय अध्यक्ष जावेद नवीले पछिल्लो समय नेपालमा विभिन्न कारणले काँचो छालाको उत्पादनसमेत घटेको बताए । पहिलो कारणमा कोशी प्रदेशमा लगायतमा खुलेका वधशाला बन्द भएकाले काँचो छालाको अभाव भएको हो । नेपालकै पुरानो नेपाल टाइनिङ इन्डस्ट्रिज प्रालिका सञ्चालकसमेत रहेका अध्यक्ष नवी भन्छन्, ‘नेपालको छालाले यहाँका तीनओटा उद्योगको माग मात्रै धान्न सक्छ । त्यसैले हामीले सरकारसमक्ष अर्धप्रशोधित र भारतबाट काँचो छालासमेत आयात गर्न पाउनुपर्ने माग राखेका छौं ।’
दुई साताअघि उद्योग मन्त्रालयमा नेपाल छाला उद्योग संघले छाला प्रशोधनमा प्रयोग हुने केमिकलको भन्सार दर घटाउनुपर्ने, छाला उद्योगको कच्चा पदार्थका रूपमा रहेको अर्धप्रशोधित छाला बाहिरबाट आयात गरी यहाँ प्रशोधन गरेर बाहिर पठाउन पाउनुपर्नेलगायत माग राखेको थियो ।
कोरोना कहरका बेला उद्योग बन्द गरेर बस्नुपरेको थियो । पछि यूरोपलगायत मुलुकबाट अपेक्षाअनुसार छालाको माग नआएको उनी बताउँछन् । युक्रेन–रूस युद्धका कारण इटाली र चीनबाट आउने मागसमेत घटेको नेपाल छाला उद्योग संघका महासचिव जुनेद इफ्तखारले बताए ।
सरकारले निकासीको सूचीमा राखेर ६ प्रतिशत अनुदान दिँदै आएको छाला उद्योगका लागि सुहलियत पूर्ण ऋणलगायतको सुविधा नहुँदा उद्योगहरूको उत्पादन खुम्चँदै गएको इफ्ताखारले बताए । विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रूपमा छाला उद्योगलाई थप प्रोत्साहन गर्नुपर्नेमा सरकारले नगद अनुदानसमेत ढिला दिइरहेको गुनासो उद्योगीको छ ।
नवीले पनि कोरोना महामारी र रूस–युक्रेन युद्धले नेपालको छाला उद्योगको उत्पादन क्षमता ७५ प्रतिशत घटेको बताए । यूरोप, अमेरिकी केही मुलुकमा निकासी भइरहेको छालाको माग घटेपछि अहिले उद्योगहरू मुश्किलले २५ प्रतिशत उत्पादनमा सीमित रहेर सञ्चालन गर्नुपरेको उनको भनाइ छ ।
विराटनगर नाकाबाट एशियन लेदर इन्डस्ट्री, नेपाल ट्यानिङ इन्डस्ट्री, गोल्डेन लेदर इन्डस्ट्रिज र युनाइटेड लेदर गरी छालाका चार उद्योगले भारत र समुद्रपारका मुलुकमा निकासी गरिरहेका छन् । विराटनगरको एक उद्योग बन्द छ भने बाँकी आठ उद्योग वीरगञ्जमा सञ्चालनमा छन् । छाला निकासी वीरगञ्ज र विराटनगर नाकाबाट हुँदै आएको छ ।
एशियन लेदर इन्डस्ट्रिजका सञ्चालक हसन अन्सारीका अनुसार कोरोनाका कारण थलिएका छाला उद्योगहरू रूस–युक्रेन युद्धको मारमा परेका छन् । भारतलगायत केही मुलुकबाहेक अन्यमा छाला निकासी हुन नसकेका कारण उद्योगहरूको उत्पादन खुम्चिएको छ । सरकारले बैंक ब्याजलगायतमा छाला उद्योगलाई सुविधा दिनुपर्ने अन्सारीको माग छ ।