काठमाडौं। नेपाल–भारत उद्योग वाणिज्य संघले नेपाल र बंगलादेशबीच विद्युत् व्यापारको लागि भएको त्रिपक्षीय सम्झौताको स्वागत गरेको छ ।
नेपाल, भारत र बंगलादेशबीच भएको उक्त सम्झौता दक्षिण एशियामा दिगो हरित ऊर्जा प्रवर्द्धनको साझा लक्ष्यमा क्षेत्रीय सहकार्य र सीमापार ऊर्जा सहयोगको लागि अर्को कोसेढुंगा सावित हुने संघले एक विज्ञप्तिमार्फत बताएको छ ।
उक्त सम्झौताले सीमापार विद्युत् व्यापारको महत्त्वलाई थप उजागर गर्दै क्षेत्रीय ऊर्जा सुरक्षालाई प्रोत्साहन गर्ने र वातावरणीय दिगोपनमा योगदान गर्ने विज्ञप्तिमा उल्लेख छ ।
‘यो विद्युत् व्यापार सम्झौताले नेपाललाई भविष्यमा नवीकरणीय ऊर्जा केन्द्रको रूपमा उदाउँदै मनग्य आम्दानीको बाटो खोलेको छ भने अर्कोतर्फ स्वच्छ ऊर्जा स्रोतहरूको सख्त आवश्यकता रहेको बंगलादेशलाई महत्त्वपूर्ण नवीकरणीय ऊर्जा उपलब्ध गराउनेछ,’ संघको विज्ञप्तिमा भनिएको छ ।
तीन देशबीचको यो सहकार्यले वर्तमान अर्थतन्त्र मात्र नभई भविष्यका सन्ततिलाई पनि जलवायु परिवर्तनका असरबाट जोगाउन स्वच्छ, नवीकरणीय ऊर्जा स्रोतहरूको प्रयोगमार्फत लाभान्वित गर्ने संघको ठहर छ । सम्झौताले दक्षिण एशिया क्षेत्रमा थप एकीकृत ऊर्जा समाधानको बाटो खोलेको र नेपाल लगायत छिमेकी मुलुकहरूबाट थप लगानी भित्त्याउन सरकारी तथा निजी लगानीकर्तामा थप विश्वासको वातावरण सृजना भएको संघले बताएको छ ।