वेयरहाउजिङ प्राइभेट लिमिटेडको तेस्रो पक्ष भण्डारण सेवा परियोजनाको हाम्रो देशको पूर्वाधार विकास र आर्थिक वृद्धिका लागि एक महत्त्वपूर्ण कोसेढुंगा साबित हुनेछ भन्ने मलाई विश्वास छ ।
उपाय वेयरहाउजिङ प्रालिको परियोजना बागमती प्रदेश, काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका, नासिका स्थान, साँगामा नेपालमै पहिलोपटक तेस्रो पक्ष भण्डारण सेवा परियोजनाको रूपमा निर्माण हुँदै छ । यो परियोजना नेपालको भण्डारण र आपूर्ति व्यवस्थापनको क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने अठोटका साथ अगाडि बढाइएको हो । यसले हाम्रो व्यापारिक वातावरणलाई थप सहज र प्रभावकारी बनाउनेछ ।
यो परियोजनाले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै रोजगारीका अवसरहरू सृजना गर्नेछ । उपाय वेयरहाउजिङले निर्माण गर्न लागेको तेस्रो पक्ष भण्डारण सेवा आयोजनाका लागि सहवित्तीयकरणको अगुवाइ गरिदिन प्रवद्र्धकहरूले गरेको अनुरोध र विश्वासका लागि सञ्चालक समितिप्रति विशेष आभार व्यक्त गर्न चाहन्छु । साथै, यस सहवित्तीयकरणमा लगानी जुटाई एउटै टीम बनेर अघि बढ्नेगरी सहभागी बैंकले दर्शाएको प्रतिबद्धताको उच्च सम्मान गर्छु ।
यस परियोजनाको अनुमानित लागत करीब रू १ अर्ब २० करोड ७ लाखमध्ये बैंकहरूले रू. ८५ करोड बराबरको आवधिक कर्जा (निर्माण अवधिको ब्याजबाहेक) बढीमा ८०:२० को ऋण स्वपूँजी रहने गरी लगानी गर्नेछन् । यसमध्ये सिटिजन्स बैंक इन्टरनेशनल लि. बाट रू. ५० करोड र माछापुच्छे्र बैंकबाट रू. ३५ करोड लगानी हुनेछ भने बाँकी स्वपूँजी प्रवद्र्धकहरूबाट जुटाइनेछ । परियोजना आगामी २ वर्षभित्र निर्माण सम्पन्न गरी भण्डारण सेवा गर्ने लक्ष्य रहेको छ ।
अब म उपाय वेयरहाउजिङले दिने सेवाहरूको बारेमा केही कुरा गर्न चाहन्छु । यस कम्पनीले स्टोरेज सेवा, सर्टिङ सेवा, प्याकेजिङ सेवा, लेबलिङ सेवा, डेलिभरी र रिभर्स लजिस्टिकजस्ता सेवा प्रदान गर्नेछ । यसले व्यवसायहरूको संचालनलाई सरल र प्रभावकारी बनाउनेछ । यसले कर्पोरेट होलसेल वेयरहाउजिङका लागि एक व्यापक वन–स्टप समाधान प्रदान गर्नेछ । यो सेवाले नेपालको व्यापारिक क्षेत्रमा नयाँ आयाम थप्नेछ ।
यो परियोजना नेपालको अर्थतन्त्रको विकासको लागि महत्त्वपूर्ण कदम हो । यसले हाम्रो देशको व्यापारिक गतिविधिलाई अझ सहज र प्रभावकारी बनाउनेछ । साथै, यसले स्थानीय स्तरमा रोजगारीका अवसरहरू सृजना गरी आर्थिक विकासमा योगदान पुर्याउनेछ ।
(उपाय वेयरहाउजिङ प्रालिका लागि सहवित्तीयकरणको नेतृत्व गरेका सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले हस्ताक्षर कार्यक्रममा दिएको मन्तव्यको सम्पादित अंश)