वीरगञ्ज । वुमेन्स क्रिएशन वीरगञ्जले शनिवार वीरगञ्जमा समर एक्जिविशन आयोजना गरेको छ । स्थानीय महिलालाई उद्यमशीलतामा अग्रसर गराउने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीको वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले उद्घाटन गरे । महानगर प्रमुख सिंहले महिला उद्यमशीलता प्रवर्द्धनका लागि सहकार्य गर्न आफू सधंै तत्पर रहेको बताए । उनले वीरगञ्जका महिलालाई उद्यमशील बनाउने कार्यक्रम लिएर आउन पनि आग्रह गरे ।
उद्घाटनको अध्यक्षता गरेकी संस्थाकी अध्यक्ष अञ्जु रुंगटाले महिलामा उद्यमशीलता विकासको उद्देश्यले प्रदर्शनी आयोजना गरिएको भन्दै यसमा सहयोग पुर्याउने सबै पक्षप्रति आभार प्रकट गरिन् । घरायसी कामबाट फुर्सद निकालेर ससानो परिमाणका उत्पादन गरेका र व्यवसायमा लागेका महिला उद्यमीको उत्पादनको बजारीकरणको मूल उद्देश्य संस्थाले यसअघि यस्ता कार्यक्रम १९ पटक गरिसकेको रुंगटाले बताइन् । वुमेन्स क्रिएशनले वीरगञ्जमा वर्षेनि यस्तो प्रदर्शनी गर्दै आएको छ ।
भारतीय महावाणिज्य दूतावासका वाणिज्यदूत सञ्जयकुमारले भारत सरकार नेपालको आर्थिक सामाजिक विकासमा सहकार्यका लागि सधैं तयार रहँदै आएको उल्लेख गरे । नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोकुमार टेमानीले यस्ता प्रदर्शनीलाई अझ बृहत् रूपमागरिनुपर्नेमा जोड दिए ।
एकदिने प्रदर्शनीमा विभिन्न उत्पादनका ४७ स्टल थिए । स्थानीय खानाका परिकार, घरायसी प्रयोगका सामान, बेतका सामग्री, रेडिमेड कपडा, शिक्षासम्बन्धी सामग्री र सेवा, खेलौनालगायत वस्तु र सेवाको प्रदर्शनी गरिएको थियो । वीरगञ्ज, काठमाडौं, भैरहवा, बारा र भारतको रक्सौल, बेतियालगायत स्थानबाट उद्यमी महिलाहरू प्रदर्शनीमा सहभागी थिए ।