सामसुङका चार नयाँ मोडल
पुस १९, काठमाडौं (अस)। सामसुङ मोबाइलको नेपालस्थित आधिकारिक विक्रेता इण्टरनेशनल मार्केटिङ सर्भिसेस प्रालिले चार नयाँ मोडलका मोबाइल बजारमा ल्याउने भएको छ । कम्पनीका म्यानेजर पुष्कल खतिवडाका अनुसार यी सबै मोडल केही समयभित्रै बजारमा आउने छन् ।
कम्पनीले बजारमा ल्याउन लागेको मोडल सामसुङ-५५७० टाशमा थ्रीजी नेटवर्कको सुविधा उपयोग गर्न सकिन्छ । यो मोडलमा ३ दशमलव १४ इञ्च स्क्रीन, ३ मेगापिक्सल क्यामरा र इयरज्याक पनि रहेको छ । कम्पनीका अनुसार यस मोडलमा इण्टरनेटका माध्यमबाट फेसबुक, ट्वीटर, वाइफाईजस्ता सामाजिक सञ्जाल पनि सजिलै चलाउन सकिन्छ । बीटी र यूएसबीको सुविधा पनि रहेको यस मोडलमा १२ सय एमएएच ब्याट्री प्रयोग हुन्छ । यसमा १ सय ६० एमबीको मेमोरी कार्ड र ३२ जीबीसम्मको माइक्रो एसडी कार्ड प्रयोग गर्न सकिन्छ । यो मोडलको बजार मूल्य रू. १८ हजार भएको कम्पनीले बताएको छ ।
कम्पनीले ल्याउन लागेको अर्को मोडल सामसुङ लटानोमा एण्ड्रियानोको सुविधा रहनेछ । यसमा ५ मेगापिक्सलको क्यामरा रहेको छ भने ८ जीबीसम्मको मेमोरी कार्ड प्रयोग गर्न सकिन्छ । थ्रीजी नेटवर्कको सुविधा उपयोग गर्न सकिने यस मोडलको मोबाइलबाट वाइफाईको सुविधा पनि उपयोग गर्न सकिन्छ । टच फोनको समेत सुविधा भएको यो मोडलको मूल्य रू. ४५ हजार पर्छ ।
त्यस्तै सी३५३० मोडलमा डिजिटल साउण्ड इञ्जिन स्पीकरका साथै ब्लुटूथको सुविधा रहेको छ । यसमा ३ दशमलव १५ मेगापिक्सलको क्यामरा, एफएम रेडियो र रेकर्डिङ सुविधा पनि छ । यसमा जीपीआरएस पनि चलाउन सकिन्छ । यस मोडलमा ६ सय ४० घण्टा स्टयाण्डबाइ र १४ घण्टा ३० मिनेट कुरा गर्न सकिने कम्पनीले बताएको छ । यसको मूल्य रू. ९ हजार छ ।
कम्पनीको अर्को मोडल सी३२२२ पञ्च डीयूओसी मोडलमा दुइओटा जीएसएम सिम एकसाथ प्रयोग गर्न सकिन्छ । यो मोडलमा क्वेर्टी किप्याड, ब्लूटुथ, माइक्रो एसडी ८ जीबीलगायतका सुविधा रहेको कम्पनीले जानकारी दिएको छ । यसमा १ दशमलव ३ मेगापिक्सलको क्यामरा, एफएम रेडियो र जीपीआरएसको सुविधा पनि छ । ५ सय घण्टा स्टयान्डबाइ रहन सक्ने क्षमताको यस मोडलमा ११ घण्टा टकटाइमको सुविधा रहेको कम्पनीले बताएको छ । यसको बजार मूल्य रू. ८ हजार ५ सय छ ।
सूचना प्रविधिमा महिलाको पहुँच बढाउन नयाँ कार्यक्रम
पुस १९, काठमाडौं (अस)। कम्प्युटर एशोसिएशन अफ नेपाल (क्यान)ले सूचना प्रविधिको क्षेत्रमा महिलाको सहभागिता बढाउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्ने भएको छ । त्यसका लागि क्यानकी सदस्य सुनैना घिमिरे (पाण्डे)को संयोजकत्वमा जनवरीभित्र समिति गठन भई कार्यक्रम सञ्चालन गरिने बताइएको छ । क्यानको अगुवाइमा महिलालाई मात्र केन्द्रित गरेर सञ्चालन गर्न लागिएको यो पहिलो कार्यक्रम हो ।
सूचना प्रविधिको क्षेत्रमा महिलाको पहुँच र सहभागिता बढाउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको संयोजक पाण्डेले जानकारी दिइन् । 'समितिमा को-को रहने भन्ने निर्णय भइसकेको छैन, समिति अहिले निर्माणप्रक्रियामै छ', उनले भनिन् ।
कार्यक्रमको शुरूमा राजधानीमा कार्यरत पत्रकार महिलाहरूसँग सूचना प्रविधिसम्बन्धी समाचार लेख्ने र यस क्षेत्रमा अगाडि बढ्नेसम्बन्धी ज्ञान र जानकारी साटासाट गरिने बताइएको छ । त्यसपछि सञ्चारिका समूह नेपालसँग आबद्ध देशभरका पत्रकार महिलालाई पनि त्यसबारे जानकारीमूलक तालीम सञ्चालन गरिनेछ । सूचना प्रविधिबारे राम्रो समाचार आउन नसकेको स्थितिमा यसको शुरुआत महिलाबाट गर्नुपर्छ भनी कार्यक्रम सञ्चालन गर्न लागिएको पाण्डेले बताइन् । यसबाट एकातिर पत्रकार महिलालाई सहयोग पुग्ने र अर्कोतिर सूचना प्रविधिको विकासमा पनि सघाउ पुग्ने उनको भनाइ छ ।
कार्यक्रममा सहभागिताका लागि छापा, टेलिभिजन, एफएम र अनलाइन मिडियाबाट सात/सात जनाका दरले महिला पत्रकार छनोट गर्ने कार्य भइरहेको क्यानले जानकारी दिएको छ । छनोटको काम एक हप्ताभित्र सकिने बताइएको छ । कार्यक्रममा २५ देखि ३० पत्रकार महिला सहभागी हुनेछन् । हाल सञ्चारिका समूह नेपालमा मात्र देशभरका ३ सयभन्दा बढी पत्रकार महिला आबद्ध छन् ।
आईसीटी इन्फो ट्रेडमा एण्टी रेडिएशन
पुस १९, काठमाडौं (अस) । प्रभात एण्ड प्राक्टिकल टे्रड प्रालिले क्वाण्टम साइन्स लकेट र एण्टी रेडिएशन स्टिकर बजारमा ल्याउने भएको छ । कम्पनीका सञ्चालक राजेश मुनिकारका अनुसार यी उपकरणले मोबाइल फोन, ल्यापटप तथा कम्प्युटरबाट निस्कने इलेक्ट्रोम्याग्नेटिक रेडिएशनबाट बचाउँछन् । पुस २१ गतेदेखि राजधानीमा शुरू हुने आईसीटी इन्फो ट्रेडमार्फत यी उपकरणलाई पहिलोपटक बजारमा ल्याउने तयारी भइरहेको कम्पनीले बताएको छ । यी उपकरणको विश्वका साथै नेपालमा समेत परीक्षण सफल भएपछि व्यावसायिक रूपमा बजारमा लैजान लागेको पनि मुनिकारले बताए ।
यो जापानी प्रविधि भए पनि यसलाई कम्पनीले ताइवानबाट आयात गर्ने गर्छ । यी उपकरणले इलेक्ट्रोनिक सामानहरूबाट निस्कने रेडिएशनलाई शरीरसम्म आउन नदिई स्वास्थ्य रक्षामा सहयोग गर्छन् । क्वाण्टम साइन्स एक सामान्य हारमाला हो । यसमा नेगेटिभ आयोन हुन्छ । यसले रक्तसञ्चार प्रणालीलाई सन्तुलित गर्न सहयोग पुर्याउँछ । स्टिकर भने मोबाइल फोन, ल्यापटप, कम्प्युटरजस्ता इलेक्ट्रोनिक सामानमा पनि प्रयोग गरिन्छ । कम्पनीका अनुसार यी सामानहरूले ३० सेकेण्डमा रेडिएशन बन्द गर्छन् । एक अध्ययनअनुसार मोबाइलबाट निस्कने रेडिएशनबाट क्यान्सरजस्तो रोग लाग्न सक्छ ।
इयरफोन लगाई लामो समयसम्म फोनमा कुरा गर्दा त्यसबाट उत्पन्न हुने रेडिएशनले दिमागमा असर गर्छ । तर, यी सामानको प्रयोगले तुरुन्तै सो रेडिएशनलाई प्रतिरोध गर्ने कम्पनीको दाबी छ ।
ब्रदरको 'मोबाइल प्रिण्टर’
पुस १८, काठमाडौं । विश्वबजारमा बढ्दो प्रतिस्पर्धा एवम् प्रविधिको विकासले हरेक दिन नयाँ र सुविधायुक्त सामग्रीको जन्म हुँदै गएको छ । यो होडबाजीबाट सूचना प्रविधिको क्षेत्र पनि अछुतो छैन । पछिल्लो समय सूचना र प्रविधिको विकास अन्य क्षेत्रको तुलनामा धेरै गुणा अगाडि रहेको देखिन्छ । यसै क्रममा प्रिण्टरको पनि द्रुत गतिमा विकास हुँदै गएको छ । विश्वबजारका प्रिण्टर उत्पादक कम्पनीहरू मोबाइल प्रिण्टरको प्रतिस्पर्धामा लागेका छन् ।
अहिले प्रिण्टरलगायतका विद्युतीयसामग्री उत्पादक कम्पनीहरू हेर्दा आकर्षक र बोक्नका लागि वस्तुको उत्पादनमा लागेका छन् । यस्ता सामग्रीको उत्पादनमा भएको प्रतिस्पर्धाले अहिले नेपालीबजारमा समेत खल्तीमा बोक्न मिल्ने मोबाइल प्रिण्टरको कारोबार शुरू भएको छ । नेपालीबजारमा यस्तो प्रिण्टरको कारोबार सागर इन्फोसिसले शुरू गरेको हो । ब्रदर ब्राण्डका लागि सागर इन्फोसिस नेपालको एक मात्र आधिकारिक विक्रेता कम्पनी हो । यसलाई नेपालीबजारमा करीब एक महीनाअघि मात्र ल्याइएको सागर इन्फोसिसका प्रमुख कार्यकारी अधिकृत सागरदेव लाखेले बताए ।
कम्पनीले नेपाली बजारमा ल्याएको ब्रदर ब्राण्डको प्रिण्टर जापानी कम्पनीको उत्पादन हो । कम्पनीले दिएको जानकारीअनुसार यो नै नेपाली बजारमा भित्रिएको पहिलो मोबाइल प्रिण्टर हो । यो प्रिण्टर विशेषगरी सेना, इन्सुरेन्स कम्पनी, अनुसन्धानकर्तालगायतलाई लक्षित गरी ल्याइएको बताइएको छ । कम्पनीका अनुसार नेपाली बजारमा उक्त मोबाइल प्रिण्टरको मूल्य ६० देखि ७० हजार रुपैयाँ रहेको छ । ब्रदर ब्राण्डको उक्त मोबाइल प्रिण्टर साधारण क्याल्कुलेटरको साइजमा उपलब्ध भएको लाखे बताउँछन् । 'यो नेपाली बजारमा भएका मध्ये सबैभन्दा आधुनिक तथा सानो आकारको प्रिण्टर हो', उनले भने । नेपाली बजारमा ब्रदर ब्राण्डका पीजे ५२३, पीजे, ५६२, पीजे ५६३, एमडब्ल्यू १४५बीटी र एमडब्ल्यू २६० मोडलहरू उपलब्ध छन् ।
विश्वबजारमा एचपी, क्यनन, जेब्रालगायत ब्राण्डका मोबाइल प्रिण्टरहरू उपलब्ध छन् । मोबाइल प्रिण्टरको उत्पादन सबैभन्दा पहिले क्याननले गरेको हो । यसपछि भने एचपी, ब्रदर, जेब्रालगायत ब्राण्ड बजारमा आएका हुन् । एचपीले करीब २ वर्षअघि एच४७०, एच४७० बी, एच४७० डब्ल्यूबीटी गरी तीन मोडल बजारमा ल्याएको हो । अन्तरराष्ट्रिय बजारमा पछिल्लो पुस्ताको मोबाइल प्रिण्टरले परम्परागत प्रिण्टरलाई विस्थापित गर्ने अपेक्षा गरिएको छ ।
मोबाइल प्रिण्टर प्रयोग गर्न कम्प्युटरको आवश्यकता पर्दैन । यसमा सीधै क्यामरा वा मोबाइलबाट समेत प्रिण्ट गर्न सकिने सुविधा हुन्छ । मोबाइल प्रिण्टरलाई आवश्यक पर्दा कम्प्युटर तथा ल्यापटपमा समेत प्रयोग गर्ने सकिन्छ । मोबाइल प्रिण्टर विनातार समेत ब्याट्रीबाट पनि चलाउन सकिन्छ । कम्प्युटर उत्पादक कम्पनीहरूले बोकेर हिँड्न सहज हुने ल्यापटप, ई-बुक, नोट बुकजस्ता साना आकारका कम्प्युटरको उत्पादन गरेजस्तै प्रिण्टरमा पछिल्लो समय मोबाइल प्रिण्टरको उत्पादन शुरू भएको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।