नेपालमा प्रत्यक्ष विदेशी लगानी : दुई निकायको फरक तथ्याङ्क

Share News
काठमाडौं । नेपालमा भएको प्रत्यक्ष विदेशी लगानीबारे दुई सरकारी निकायको फरकफरक तथ्याङ्क सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैङ्कको ‘नेपालमा प्रत्यक्ष विदेशी लगानी’सम्बन्धी अध्ययन प्रतिवेदन र उद्योग विभागको तथ्याङ्क आपसमा मिल्दैन । राष्ट्र बैङ्कले हालसम्म नेपाल आएको प्रत्यक्ष विदेशी लगानीको प्रमुख स्रोतका रूपमा वेष्ट इण्डिजलाई राख्दै त्यहाँबाट हालसम्म सबैभन्दा धेरै रू. ६२ अर्ब ८ करोड प्रत्यक्ष विदेशी लगानी प्राप्त भएको बताएको छ । उद्योग विभागको तथ्याङ्कमा भने वेष्ट इण्डिज नामको कुनै पनि मुलुकबाट नेपालमा लगानी आएको देखिँदैन । विभागको तथ्याङ्कअनुसार नेपालमा सबैभन्दा पहिलो वैदेशिक लगानी हिमालयन ब्रुअरीमा भएको देखिन्छ । भारतको मोहन मिकिनले २०३३ साल असोजमा करीब ४ करोड रुपैयाँ लगानी गरेर सो कम्पनी स्थापना भएको थियो । पछिल्लो समय आयकर नलाग्ने (ट्याक्स हेभेन) का रूपमा परिचित मरिससबाट करीब रू. ३ अर्ब ४० करोड विदेशी लगानी आएको राष्ट्र बैङ्कको तथ्याङ्क छ । त्यस्तै अर्को देश ब्रिटिश भर्जिन आइल्याण्डबाट रू. ८ अर्ब ६० करोड लगानी आएको तथ्याङ्क पनि बैङ्कले प्रस्तुत गरेको छ । ट्याक्स हेवेन मानिने देशमध्ये नेपालमा सबैभन्दा पहिला बर्मुडाबाट विदेशी लगानी आएको देखिन्छ । उद्योग विभागको तथ्याङ्कअनुसार २०३८ सालमा बर्मुडाको कमक्राफ्ट नामक कम्पनीले नेपालको हुलास स्टीलमा करीब रू. ४ करोड ७५ लाख लगानी गरेको थियो । यसरी, दुई सरकारी निकायको तथ्याङ्क नमिल्नुको अर्थ कि दुई निकायमध्ये एक निकायको तथ्याङ्क गलत हुनुपर्छ । नभए राष्ट्र बैङ्कले सम्पत्ति शुद्धीकरण अनुसन्धानमा प्रयोग हुने उपकरण तथा सूचनाको प्रयोग गरी विभागको भन्दा फरक तरीकाको तथ्याङ्क प्रस्तुत गरेको हुनुपर्छ ।पूर्वकामु महालेखा परीक्षक शुकदेव भट्टराई खत्रीले दुवै अवस्थाको सम्भावना रहने अभियानलाई बताए । ‘एक अन्तरनिकाय समन्वय नभएर भूलवश भएको हुनसक्छ र अर्काे कारण पनि रहन सक्छ,’ खत्रीले अभियानसँगको कुराकानीमा भने ।सन् २००१ बाट नेपालमा स्वाभाविक रूपमा प्रत्यक्ष विदेशी लगानी आउन थालेको हो । सो क्रम सन् २०१२/१३ सम्म वार्षिक रू. ३ अर्बदेखि रू. १० अर्बसम्म छ । सन् २०१३/१४ मा प्रत्यक्ष विदेशी लगानी ह्वात्तै बढेर एकै वर्षमा रू.२० अर्ब नाघेको छ । जबकी रकमका आधारमा सबैभन्दा धेरै प्रत्यक्ष विदेशी लगानीको मुख्य स्रोतका रूपमा रहेको भारको लगानी रू. २७ अर्ब ३ करोड छ ।तर, राष्ट्र बैङ्कले वेष्ट इण्डिजबाट १ आर्थिक वर्षमा रू. ६२ अर्ब ८ करोड आएको देखाउँछ । राष्ट्र बैङ्कले नेपालमा भएका विदेशी लगानीका उद्योगलाई ३ वर्गमा छुट्ट्याएर ठूला वर्गका सबै २९ उद्योगको अध्ययन गरेको बताएको छ । मझौला वर्गका ४० उद्योगमध्ये नमूना विधिबाट २४ र साना १ सय ८३ मध्ये ७३ ओटा उद्योग छनोट गरेर अध्ययन गरिएको बताइएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।