१५ लाखसम्मको आयमा कृषकलाई कर छुट दिन सुझाव

Share News

असार २१, हेटौंडा । गरिबीको रेखामुनि रहेका प्रत्येक कृषक परिवारले कृषि उत्पादनबाट वार्षिक रु १५ लाखसम्मको आय गर्दा कर छुट दिनुपर्ने सुझाव दिइएको छ । प्रदेश नं ३ को बुधवार बसेको प्रदेशसभा बैठकमा बोल्दै प्रदेशसभा सदस्यहरुले यस्तो सुझाव दिएका हुन् ।

त्यसअघि आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले सरकारको तर्फबाट ‘आर्थिक विधेयक, २०७५ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव गरेका थिए । उक्त विधेयकमाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरुले बृहत् पशुपालन र कृषि उत्पादनको फार्म सञ्चालन गर्ने व्यवसायीलाई करको दायरामा ल्याउन पनि माग गरेका छन् ।

सदस्यहरुले घरजग्गा बहाल कर र उद्योगबाट उत्पादित सिमेण्टलगायत अन्य वस्तुको अन्तःशुल्क शीर्षकमा करको दायरालाई फराकिलो पारी राजस्व वृद्धि गर्न सुझाव दिए । विभिन्न फर्म, उद्योग र विज्ञापन एजेन्सीलाई एकद्वार प्रणालीमार्फत विज्ञापनको कारोबार गर्न आर्थिक ऐन ल्याउनु पर्ने र विज्ञापन गर्दा ठूलो एजेन्सीमार्फत मात्र विज्ञापन प्रकाशित गर्नुपर्ने प्रवाधान राखिँदा विज्ञापन एजेन्सीलाई करको दायरामा ल्याउन सजिलो हुने उनीहरुको धारणा छ ।

सार्वजनिक क्षेत्रमा सञ्चालनमा रहेका सवारी साधनलाई समयानुकूल सेवामा सुधार गरी सर्वसाधारणलाई सुविधा उपलब्ध गराउन प्रदेश सरकारले नयाँ रणनीति अपनाउनु पर्ने सुझाव दिँदै सदस्यहरुले सार्वजनिक सवारीलाई करको दायरामा ल्याउँदा सर्वसाधारणलाई मर्का नपर्ने गरी कर निर्धारण गरिनुपर्ने बताए ।

सदस्यहरु सरेश नेपाल, डा राजाराम कार्की, शोभा शाक्य, सिर्जना सैंजु, सुरेशराज गोसाई, रीता माझी, पुकार महर्जन, ओमबहादुर घलान, नरोत्तम वैद्य, केशवप्रसाद पोखरेल, राधा घले र एकनाथ दाहालले विधेयकमाथिको छलफलमा भाग लिएका थिए ।

प्रदेशसभाको अर्को बैठक बिहीबार अपराह्न ३ बजे बस्नेछ । रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।