सिद्धार्थ बैंकले शुक्रवारदेखि ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने*

Share News

असार ९, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले शुक्रवारदेखि १० वर्षे अवधिको ऋणपत्र विक्री गर्ने भएको छ । बैंकले वार्षिक १० दशमलव ७५ प्रतिशत ब्याजदर रहेको ‘१० दशमलव ७५ प्रतिशत एस.बि.एल. डिबेन्चर २०८९’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो । 

बैंकले प्रतिकित्ता रू. १००० अंकित दरका रू. ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकले ४० लाख कित्ता ऋणपत्र मध्ये ४० प्रतिशत अर्थात् १६ लाख कित्ता सर्वसाधारण लगानीकर्तालाई र ६० प्रतिशत अर्थात् २४ लाख कित्ता विभिन्न संघसंस्थालाई विक्री गर्ने छ । सर्वसाधारणका लागि निष्कासन गरिएको कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ८० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने छ ।  

यो ऋणपत्र खरीदका लागि छिटोमा असार १४ गतेसम्ममा विक्रीमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा असार २४ गतेसम्म विक्री खुल्ला रहने छ । सर्वसाधारण लगानीकर्ताहरूले न्यूनतम २५ कित्तादेखि अधिकतम एक लाख कित्तासम्म माग गर्दै आवेदन दिन सकिने व्यवस्था छ । 

यो ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । साथै, मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिने विक्री प्रबन्धकको भनाइ छ ।

ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यममात्रामा सुरक्षा तथा प्रतिकुल प्रभावसहित सुक्ष्म निगरानी जनाउने इक्राएनपी त्रिपल बी प्लस रेटिङ्ग प्रदान गरेको छ ।
*सिद्धार्थ बैंकले शुक्रवारदेखि १० वर्षे अवधिको ऋणपत्र विक्री गर्न लागेको हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।