हिमालयन बैंकको २५ लाख कित्ता ऋणपत्र आजदेखि निष्कासनमा 

Share News

भदौ १५, काठमाडौं । हिमालयन बैंक लिमिटेडले आज (भदौ १५ गते) देखि वार्षिक १० दशमलव ५० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ निष्कासन  गर्न लागेको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका रू. २ अर्ब ५० करोड बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ । 

जसमध्ये ४० प्रतिशत अर्थात् १० लाख कित्ता सर्वसाधारणलाई विक्री गरी बाँकी ६० प्रतिशत अर्थात् १५ लाख हजार कित्ता व्यक्तिगत तवरबाट विक्री गरिने बैंकले जनाएको छ । सर्वसाधारणलाई निष्कासन गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ ।

सो ऋणपत्र खरीदका लागि भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा भदौ २९ गतेसम्म समय थप हुनेछ ।  लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । लगानीकर्ताले मेरो शेयर वेबसाइट र एपमार्फत आवेदन दिन सक्नेछन् । यसका साथै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सकनेछ ।

ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङमा केयर रेटिङ नेपालले बैंकलाई केयरएनपी ए माइनस रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व समयमा नै पूरा गर्न सक्ने तथा कर्जा जोखिम न्यून भएको संस्था जनाउँछ । सो ऋणपत्रको अवधि सात वर्ष रहनेछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।