सन फ्रान्सिस्को (अमेरिका) । माइक्रो ब्लगिङ वेबसाइट ट्वीटर Twitter ले प्रयोगकर्ताहरुको प्रमाणीकरण (भेरिफिकेशन) प्रक्रिया परिमार्जन गर्ने भएको छ । कम्पनीले ट्विटर ब्लुको नयाँ सब्सक्रिप्शनका लागि झन्डै २० डलर शुल्क तिराउने योजना बनाइरहेको छ ।
अमेरिकी खर्बपति व्यापारी एलन मस्कले एक युजरको ट्वीटमा कमेन्ट गर्दै भेरिफिकेसन प्रक्रिया अब पूर्णरुपमा परिवर्तन हुने भनेर लेखेका थिए । उनको सो कमेन्टपछि अहिले यसबारे विश्वभर बहस भइरहेको छ । मस्कले यसबारे विस्तृतमा चाँहि केही उल्लेख गरेका छैनन् ।
सञ्चार माध्यमहरुमा छापिएका समाचारहरुका अनुसार ट्वीटर अकाउन्ट भेरिफाइ गर्न र भेरिफाइड भइसकेपछि पनि निश्चित शुल्क लिने तयारी भइरहेको छ । ट्वीटर अकाउन्ट भेरिफाइ गर्न १९ डलर ९९ सेन्ट र भेरिफाइड भइसकेपछि मासिक ४ डलर ९९ सेन्ट तिर्नुपर्ने हुन्छ ।
भेरिफाइड भएको संकेत चिह्न (ब्लु टिक मार्क) लिइराख्ने र नलिने भनेर निर्णय गर्न ९० दिनको समय सीमा दिइने छ । एलन मस्कले यस परियोजनामा काम गरिरहेका कर्मचारीहरुलाई नोभेम्बर ७ सम्ममा काम भ्याइसक्न वा पोको पन्तुरो बोकेर कार्यालय बाहिर जान भनेको बताइएको छ । ट्वीटरले भेरिफाइड अकाउन्ट युजरलाई निलो रंगको संकेत चिह्न दिन्छ ।
यसबाट व्यक्ति वा संस्थाको यो आधिकारिक ट्वीटर अकाउन्ट हो भनेर पहिचान गर्न सजिलो हुन्छ । हाल ट्वीटरमा सबैको भेरिफाइड संकेत चिह्न हटाउन माग उठेको छ । १०० भन्दा कम फलोअर्सले भेरिफाइडको संकेत चिह्न पाएको तर हजारौं फलोअर्स भएकाले पनि नपाएको भन्दै सबैको संकेत चिह्न हटाउनुपर्ने माग उठेको हो ।
ट्विटर किन्ने प्रस्ताव गर्दा खेरि नै मस्कले यसमा व्यापक हेरफेर गर्ने बताएका थिए । ट्विटरमा खाता प्रमाणीकरण प्रक्रिया र बोटको व्यवस्थापनमा हेरफेर गर्ने सुर मस्कले गरेका छ । कम्पनीको आधा आम्दानी सब्सक्रिप्शनबाटै उठाउने योजना उनको छ ।
मस्कले के सोचेर ट्विटर किनेका हुन् अनि उनको हिसाबले कसरी काम गर्ला भन्नेबारे पछिल्लो समय चियो चर्चा बढेको छ । ट्विटर किन्न मस्कले अर्बौ डलर कर्जा लिएका छन् । गएको १० वर्षमध्ये ८ वर्षमा ट्विटरले कुनै नाफा कमाएको छैन । ट्विटरको कुल आम्दानीको ९० प्रतिशत डिजिटल विज्ञापनबाट आउँछ । तर पछिल्लो समय यस्तो आम्दानी घट्दै गइरहेको छ ।
पछिल्लो समय कम्पनीले आधा कर्मचारीलाई कामबाट निकाल्ने अनुमान बढेको छ । कम्पनीले अनुसन्धान र विकासमा गरिने खर्च पनि घटाउन सक्ने देखिएको छ । कम्पनी सामु खर्च कम गर्ने अन्य बाटो पनि छन् । अहिले भाडा, डेटा सेन्टर र अतिरिक्त खर्च घटाउन सक्नेछ । खर्च घटाउँदा पनि काम बनेन भने मस्कले एक वर्षभित्र लगानीकर्ताहरुभन्दा बाहिर गएर पैसा उठाउनु पर्न हुन सक्ने विश्लेषण गरिएको छ ।
एजेन्सी
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।