काठमाडौं । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि फागुन ८ गतेदेखि आईपीओ निष्कासन तथा विक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ । अब स्थानीयले चैत ७ गतेसम्म आईपीओका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ४४ लाख ५ हजार ३०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ५ लाख ४४ हजार ५३ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको हो ।
सोमध्ये अति प्रभावित क्षेत्र नौमुले द्वारी–३ दैलेखमा स्थायी बसोबास गर्ने स्थानीयको लागि २ लाख ७२ हजार २६ कित्ता तथा आयोजना प्रभावित क्षेत्र दैलेख जिल्ला (नौमुले द्वारी–३ बाहेक) का स्थानीय बासिन्दाका लागि २ लाख ७२ हजार २७ कित्ता शेयर बाँडफाँट गरिनेछ ।
यसका साथै सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ करोड ८ लाख ८१ हजार १०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख ८ हजार ८११ कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिनेछ ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ३० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने आईपीओमा आवेदन दिने अन्तिम दिन आज रहेको छ ।
इक्रा नेपालले कम्पनीको आईपीओलाई इक्राएनपी आईआर बी माइनस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ । कम्पनीले प्रवर्द्धन गरिरहेको ३ दशमलव ७५ मेगावाटको द्वारी खोला जलविद्युत् आयोजनाको कुल अनुमानित लागत ७३ करोड १९ लाख ७८ हजार ८०८ रुपैयाँ छ भने प्रतिमेगावाट कुल अनुमानित लागत १९ करोड ५१ लाख ९४ हजार ३४९ रुपैयाँ छ ।
स्थानीय बासिन्दाले आयोजना स्थल, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने बैंक तथा वित्तीय संस्थाहरूको सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।