रिडी पावर र अरुण भ्याली हाइड्रोपावरले हकप्रद निष्कासन गर्न सेबोनबाट पाए स्वीकृति

Share News

काठमाडौं । दुई हाइड्रोपावर कम्पनीले हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृति पाएका छन् । रिडी पावर कम्पनी लिमिटेड र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद निष्कासन गर्न सेबोनबाट अनुमति पाएका हुन् । यी दुवै कम्पनीले हकप्रद निष्कासनको लागि पुस १९ गते बोर्डबाट अनुमति पाएको नेप्सेमार्फत जानकारी दिएका हुन् । 

अरुण भ्याली हाइड्रोपावरले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न सेबोनबाट अनुमति पाएको हो । अब कम्पनीले १ करोड ८६ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । शतप्रतिशत हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी रू. ३ अर्ब ७३ करोडभन्दा माथि पुग्नेछ ।

हकप्रद शेयर विक्रीबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ पिके हाइड्रोपावर प्रालिले विकास गर्दै गरेको लिखु खोला जलविद्युत आयोजना (३० मेवा) को निर्माणका लागि आवश्यक पर्ने स्वपूँजीका लागि पिके हाइड्रोपावरको संस्थापक शेयरमा लगानी गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

त्यसैगरी बाँकी रकम ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ कम्पनीले निर्माण सम्पन्न गरी सञ्चालनमा रहेको काबेली बी–१ क्यासकेड जलविद्युत आयोजनाको निर्माण चरणमा बैंकहरूबाट लिएको ऋण भुक्तानी गर्नका लागि उपयोग गर्ने कम्पनीले निर्णय गरेको छ ।

रिडी पावरले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात् १ः०.५ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न सेबोनबाट अनुमति पाएको हो । यस कम्पनीको विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड छ । स्वीकृति पाएसँगै कम्पनीले ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ५४ करोड छ । ५० प्रतिशत हकप्रद शेयर निष्कासनपश्चात पूँजी रू. २ अर्ब ३२ करोडभन्दा बढी पुग्नेछ ।

कम्पनीको लगानी तथा व्यवस्थापनबाट सहायक कम्पनी साझा पावर डेभलपमेन्ट कम्पनीको स्वामित्वमा रहने तल्लो बलेफि जलविद्युत आयोजना निर्माण गर्न र उक्त आयोजनामा स्वपूँजी व्यवस्थापन गर्न हकप्रद शेयर निष्कासन गर्न लागेको हो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।