बैंकदेखि व्यापारसम्म मन्दीको असर : वाणिज्य बैंकको नाफामा १० प्रतिशतको संकुचन

Share News

काठमाडौं । आर्थिक गतिविधि शिथिल हुँदाको असर बैंकहरूको वित्तीय विवरणमा देखिएको छ । चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरूको नाफा करीब १० प्रतिशतले घटेको छ । 

आर्थिक गतिविधिमा कमी आउँदा बैंकको आम्दानी घट्नुका साथै असुली प्रभावित हुँदा खराब कर्जा वृद्धि भई नाफामा प्रभाव परेको हो । नाफा कम हुँदा बैंकहरूको वितरणयोग्य नाफा पनि घटेको छ । 

बैंकहरूले प्रकाशित गरेको वित्तीय विवरणअनुसार चालू आव २०८०/८१ को पुस मसान्तसम्ममा २० ओटा वाणिज्य बैंकले कुल २८ अर्ब ७६ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । गत आवको यसै अवधिसँग तुलना गर्दा यो ९ दशमलव ९४ प्रतिशतले कम हो । गत आवको पुस मसान्तसम्ममा वाणिज्य बैंकहरूले ३१ अर्ब ९४ करोड रुपैयाँ खुद नाफा गरेका थिए । 

नेपाल राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाबाट समस्यामा परेका ऋणीहरूको कर्जा पुन: संरचना तथा पुनर्तालिकीकरण गर्ने अवधि २०८० चैत मसान्तसम्म पुर्‍याएको थियो । यसैगरी पुनर्तालिकीकरण गर्न पाउने क्षेत्र पनि बढाएको थियो । 

राष्ट्र बैंकले दिएको पुनर्तालिकीकरणको सुविधाले खराब कर्जा व्यवस्थापन गर्न सजिलो भएको एक बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए । ‘कर्जा पुन: संरचना र पुनर्तालिकीकरण गर्ने सुविधा नपाएको भए खराब कर्जा अझै धेरै हुने र बैंकहरूको घाटा अझ उच्च हुने थियो,’ उनले भने । 

चालू आवको पहिलो त्रैमासमा बैंकहरूको खराब कर्जा बढेर ३ दशमलव ४० प्रतिशत पुगेको थियो । पुस मसान्तमा आइपुग्दा ३ दशमलव १७ प्रतिशतमा झरेको छ । तर, पुन: संरचना गरेको कर्जामा जोखिम व्यवस्थाबापत छुट्ट्याउनुपर्ने रकम बढेकाले बैंकहरूले जोखिमबापत छुट्ट्याएको रकम भने बढेको छ । 

गत आवमा वाणिज्य बैंकहरूको नाफा पहिलो त्रैमासमा ५ दशमलव ९४ प्रतिशत, दोस्रोमा ११ दशमलव १० प्रतिशत र तेस्रोमा ११ दशमलव ६७ प्रतिशतले वृद्धि भएको थियो । चौथो त्रैमासमा आइपुग्दा नाफाको वृद्धिदर २४ दशमलव ९३ प्रतिशत पुगे पनि चालू आवको पहिलो त्रैमासमै बैंकहरूको नाफा अघिल्लो वर्षको तुलनामा करीब १९ प्रतिशतले घटेको थियो । 

नाफा घट्ने क्रमले निरन्तरता पाए पनि पहिलो त्रैमासको तुलनामा सुधार देखिएको छ । पुन: संरचना र पुनर्तालिकीकरणको सुविधाले बैंकहरूले खराब कर्जा व्यवस्थापनमा केही सहज भएको बताइएको छ । तर, दोस्रो त्रैमासमा १६ ओटा वाणिज्य बैंकहरूको नाफा घट्दा चारओटाको वृद्धि भएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।