विदेशमा सिकेको शीपबाट स्वदेशमा उद्यम गर्न नबिल ल्यायो ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ योजना

Share News

काठमाडौं । नबिल बैंक लिमिटेडले विदेशबाट फर्किएका नेपाली युवा तथा विदेशमा रहेका नेपाली युवाको परिवारलाई लक्षित गरेर नयाँ कर्जा योजना ल्याएको छ । 

बैंकले विदेशमा सिकेको शीपबाट स्वदेशमा उद्यम गर्न चाहनेका लागि ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ योजना ल्याएको हो । देशले युवा शक्तिको अपेक्षित लाभ उठाउन नसकेको, वैदेशिक रोजगारीमा जाने क्रम निरन्तर बढेको, विदेशबाट फर्केका युवाले पर्याप्त पूँजीे अभावमा आफ्नो शीपको उपयोग गरी उद्यमशीलता विकास गर्न नसकेको जस्ता समस्या देखिएको अवस्थामा बैंकको यो कर्जा उपयोगी बन्ने विश्वास लिइएको छ ।

बुधवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीद्वारा यो कर्जा योजना सार्वजनिक गरिएको हो । नयाँ कर्जा योजना सार्वजनिक उक्त कार्यक्रममा श्रम मन्त्रालयका सचिव केवल प्रसाद भण्डारी, नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल, उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालयका सहसचिव विमल प्रसाद बराल, नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट, कार्यकारी निर्देशक गुरु पौडेललगायत विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिको उपस्थिति थियो ।

‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले बैंकको यस्तो योजनाले विदेसिएको दक्ष र बौद्धिक जनशक्तिलाई नेपालमा फर्काउन ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । सरकारले विदेसिएका नेपालीलाई नेपाल फर्किएर व्यवसाय शुरु गर्न प्रोत्साहित गरिरहेको अवस्थामा नबिल बैंकले ल्याएको यो योजनाले थप टेवा पुर्‍याउने विश्वास मन्त्री भण्डारीको छ । उनले वैदेशिक रोजगारीमा रहेका र फर्किएका युवालाई स्वदेशमा नै उद्यमशीलता विकास गर्ने सरकारको अभियानलाई सहयोग पुग्ने गरी बैंकले कार्यक्रम अघि बढाएको भन्दै आभार प्रकट गरेका छन् । सहज र सरल ढंगबाट वित्तीय सेवा प्रवाह गरी यो कर्जालाई देशव्यापी बनाउन सके देशको विकासमा टेवा पुग्नेमा मन्त्री भण्डारी विश्वस्त छन् । 

नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले वातावरणीय, सामाजिक र आर्थिक दिगोपनमा केन्द्रित गरेर बैंकले आफ्नो यात्रा अघि बढाएको बताए । ‘यो कर्जा योजना बैंकले व्यावसायिकरूपमा मात्र नभई स्थानीय अर्थतन्त्र र साना व्यवसायहरूलाई सहयोग तथा समर्थन गर्न डिजाइन गरिएको एक अभियानका रूपमा लिएका छौं,’ अध्यक्ष पौड्यालले भने । 

अध्यक्ष पौड्यालले प्रवासमा काम गरेर स्वदेश फर्केका नेपालीको आवश्यकतालाई सम्बोधन गर्न, उनीहरूले हासिल गरेको ज्ञान र विशेषज्ञताबाट उद्यमशीलता प्रवद्र्धन गर्न यो कार्यक्रम निकै उपयोगी हुने बताए । विदेशबाट फर्किएका नेपालीलाई उनीहरूको शीपको उपयोग गर्नु, उनीहरूलाई उद्यमशील बनाउन तथा राष्ट्रिय अर्थतन्त्र विस्तार गर्नु यो कार्यक्रमको लक्ष्य रहेको जानकारीसमेत अध्यक्ष पौड्यालले दिएका छन् ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले यस्ता योजनामार्फत बैंकले दिगो यात्रालाई जोड दिएको बताए । बैंकले सार्वजनिक गरेको यस्तो कर्जा योजना दिगो बैंकिङ विकासको लागि कोशेढुंगा साबित हुने र देशकै उत्पादकत्व बढाउन मद्दत पुर्‍याउने विश्वास ढुंगानाको छ । नबिल बैंकले २६६ ओटा शाखा सञ्जाल, २२ ओटा एक्सटेन्सन काउन्टर, ३१३ ओटा एटीएम मेसिनबाट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकको नेपालभर १८ लाखभन्दा धेरै ग्राहक छन् ।

नयाँ कर्जा योजनाको विशेषता 

यो कर्जा विदेशमा सिकेको शीपलाई प्रयोग गर्दै नेपालमै केही गरौं भन्ने सोच बनाइरहेका नेपालीलाई केन्द्रित गरिएको हो । यो कार्यक्रमअन्तर्गत उद्योग तथा व्यावसायिक योजनाको प्रकृतिका आधारमा अधिकतम १० करोडसम्म कर्जा उपलब्ध गराइने छ । बैंकका अनुसार यस्तो कर्जा न्यून ब्याजमा अधिकतम १० वर्ष अवधिसम्मको लागि उपलब्ध गराइनेछ । यो कर्जामा बैंकले आधार दरमा जम्मा १ दशमलव ५ प्रतिशत प्रिमियम थप गरी उपलब्ध गराउने उल्लेख गरिएको छ । आवश्यक कागजपत्र पूरा भएको तीनदेखि पाँच दिनभित्रमा कर्जा प्रवाह भइसक्ने जानकारी बैकले दिएको छ । 

‘वैदेशिक रोजगारबाट फर्केका तथा हाल वैदेशिक रोजगारमा रहेका नेपालीको परिवारलाई वित्तीय पहुँच पु¥याउन प्रतिबद्धता बैंकले सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराइ उद्यमशीलता विकास गर्ने उद्देश्य लिएको छ । यस योजनाअन्तर्गत सञ्चालन हुने साना तथा मझौला उद्यमले स्थानीय अर्थ व्यवस्थालाई सुदृढीकरण गर्नुका साथै समाजमा रोजगारी सिर्जना गर्ने बैंकको विश्वास छ । 

यसले विप्रेषणलाई सही ठाउँमा उपयोग गर्नुका साथै वैदेशिक रोजगारमा रहेका नेपालीका परिवार तथा आफन्तलाई समेत सक्रिय बनाउने अपेक्षा राखिएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।