सौर्य ऊर्जा जडानका विविध पक्षमा अन्तरक्रिया

Share News

विराटनगर। डिजेल खपत गरिरहेका उद्योगमा सोलार रुफटप प्रविधि जडान गरी कार्बन उत्सर्जनमा कमी ल्याउने उद्देश्यले उद्योगी, व्यवसायीसँग अन्तरक्रिया सम्पन्न भएको छ । ऊर्जा, जलस्रोत तथ सिँचाइ मन्त्रालयअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको आयोजना तथा उद्योग संगठन मोरङ र जर्मन सहयोग नियोगको समन्वयमा कार्यक्रम भएको हो । 

कार्यक्रममा संगठनका अध्यक्ष राकेश सुरानाले सौर्य ऊर्जा उद्योगका लागि सस्तो वैकल्पिक ऊर्जा भएको बताए । उनले पर्याप्त विद्युत् उपलब्ध नभइरहेको अवस्थामा सौर्य ऊर्जाको उपलब्धता उद्योग सञ्चालनका लागि उत्तम विकल्प हुने बताए । यसको प्राविधिक पक्षलाई विश्लेषण गरी जडान गर्नुपर्ने धारणा उनले राखे । विश्वव्यापी रूपमा भइरहेको वातावरणीय प्रदूषण र त्यसबाट मानव स्वास्थ्यमा परेको नकारात्मक प्रभाव न्यूनीकरणमा समेत सौर्य ऊर्जा उपयोगी भएकाले यसको प्रयोगलाई सरकारले समेत प्रवर्द्धन गर्नुपर्नेमा उनले जोड दिए । 

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका सौर्य ऊर्जा संयोजक निरज सापकोटाले नेपाल सरकार र जर्मन सरकारको सहयोगमा सञ्चालित परियोजनाको प्रमुख उद्देश्य सौर्य ऊर्जाको प्रवर्द्धनका माध्यमबाट कार्बन उत्सर्जनमा कमी ल्याउनु रहेको बताए । उनले यसको कार्यान्वयन पक्षमाथि प्रकाश पार्दै यो प्रविधि उद्योग स्वयंले आफ्नै खर्चमा जडान गर्न सक्ने वा अन्य पक्षमार्फत जडान गराई आफूलाई आवश्यक ऊर्जा उपयोग गर्न सक्ने जानकारी दिए । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।