चितवन। चितवनको सौराहामा माघ १८ गतेदेखि ‘सौराहा दक्षिण एशियाली चलचित्र महोत्सव’ हुने भएको छ । महोत्सव क्याराभान नेपालको आयोजनामा रत्ननगर वडा नंं ७ चित्रसारी खेल मैदानमा हुन लागेको हो ।
नेपाली चलचित्रको विकास र सौराहासहित चितवनको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अन्तराष्ट्रियस्तरको चलचित्र महोत्सवको आयोजना गरिएको क्याराभान नेपालका अध्यक्ष तथा चलचित्र निर्देशक विमल पौडेलले जानकारी दिए । महोत्सवमा चलचित्र, पर्यटन तथा स्थानीय परम्परागत खानाका गरी १०० भन्दा बढी स्टल रहने बताइएको छ । महोत्सव ५० हजार दर्शकले अवलोकन गर्ने र १ करोड ५० लाख रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ । पाँच दिनसम्म चल्ने महोत्सवमा चलचित्र र पर्यटनको विकासका लागि राज्य र निजीस्तरबाट गर्नुपर्ने पहलका बारेमा सूक्ष्म रूपमा छलफल र बहस गरी नीतिगत सुधारको लागि सरकारको ध्यानार्कषण गराइने अध्यक्ष पौडेलले जानकारी दिए ।
रत्ननगर नगरपालिकाको मुख्य सहयोगमा सञ्चालन हुने सो महोत्सवमा ८ राष्ट्रका चलचित्रकर्मीको उपस्थिति रहनेछ । महोत्सवमा दक्षिण एशियाली क्षेत्रका नवीनतम कला सृजनाका लागि अवसर प्रदान, सांस्कृतिक आदानप्रदान र दक्षिण एशियाली चलचित्र, वृत्तचित्र तथा लघु चलचित्रबीच प्रतिस्पर्धा गराइने समेत बताइएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।