विराटनगर। युवा उद्यमशीलता प्रवर्द्धनको माध्यमबाट आर्थिक एवं औद्योगिक विकासमा योगदान पुर्याउने उद्देश्यले उद्योग संगठन मोरङले सञ्चालनमा ल्याएको ‘स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम’ अन्तर्गत तेस्रो चरणमा सहभागी १८ स्टार्टअपहरूले आफ्नो आइडिया प्रस्तुत गरेका छन् ।
कार्यक्रमको माध्यमबाट युवालाई स्वदेश मै उद्यमशीलता विकासतर्फ अभिप्रेरित गर्दै आएको संगठनका अध्यक्ष राकेश सुरानाले बताए । ‘नवीन व्यावसायिक अवधारणा भएका युवालाई लक्षित गरी सञ्चालित कार्यक्रमले उद्यमशीलता रूपान्तरणका लागि मेन्टरका माध्यमबाट आवश्यक प्राविधिक एवं व्यावसायिक विकास सेवा उपलब्ध गराई वित्तीय व्यवस्थापनका लागि सहजीकरण गर्छौं,’ उनले भने ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले युवा उद्यमशीलता विकासका सन्दर्भमा महानगरपालिका सदैव हातेमालो गर्न तत्पर रहेको बताए । स्टार्टअप कार्यक्रमअन्तर्गत तेस्रोे चरणमा सहभागी १८ स्टार्टअपमध्ये उत्कृष्ट तीनलाई महानगरपालिकाको तर्फबाट सहयोग गर्ने उनको भनाइ छ ।
संगठनको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रमका संयोजक सुरेन्द्र गोल्छाले विश्वका उदयमान स्टार्टअपहरूमा युवा वर्गको वर्चस्व रहेको भन्दै देशको आर्थिक समृद्धिमा यो वर्गले अग्रसरता लिनुपर्ने धारणा राखे । संगठनले तीन वर्षदेखि सञ्चालन गर्दै आएको यस कार्यक्रमको पहिलो चरणमा १७ र दोस्रो चरणमा १३ जना स्टार्टअप ग्राजुएट भइसकेका छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।