व्यावसायिक सम्भावना खोज्न महासंघ र बीभीएमडब्ल्यूबीच समझदारी

Share News

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले जर्मन कम्पनीहरूले नेपालमा लगानी गर्ने वा नेपाली व्यवसायसँग सहकार्य गर्ने सम्भावना खोज्न बीभीएमडब्ल्यू जर्मनीसँग समझदारी गरेको छ । बुधवार महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बीभीएमडब्ल्यूका कार्यकारी अध्यक्ष क्रिस्टोफ अहलहसले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

अध्यक्ष ढकालले नेपालले नेपाल विकासशील मुलुकमा स्तरोन्नति भएपछि युरोपमा निर्यातमा भन्सारमुक्त पहुँच गुमाउने भएकाले सबैभन्दा बढी असर साना तथा मझौला उद्योगमा पर्ने बताए । विशेषगरी महिलाद्वारा सञ्चालित साना तथा मझौला उद्योगहरूलाई सहयोग गर्नुपर्नेमा उनले जोड दिए । साना तथा मझौला उद्योगको प्रवर्द्धन र विकासका लागि महासंघ र बीभीएमडब्ल्यूले सहकार्य गर्नुपर्ने उनले बताए ।

समझदारीको प्रमुख उद्देश्य महासंघ र बीभीएमडब्ल्यूबीचको सहकार्य अभिवृद्धि गर्नु र लगानी प्रवर्द्धनमा सहकार्य गर्न व्यावहारिक रूपरेखा स्थापना गर्नु रहेको बताइएको छ । समझदारी अनुसार महासंघ र बीभीएमडब्ल्यू दुवैले लगानी नीति, नियम, विनियम, कार्यविधि, प्रोत्साहन र अवसरका बारेमा जानकारीको नियमित आदानप्रदान गर्नेछन् । नेपाल र जर्मनीसँग सम्बन्धित तथ्यांक दुवै संस्थाको पहुँचमा पुग्नेगरी अद्यावधिक समेत हुने बताइएको छ ।

समझदारीपत्रमा हस्ताक्षर कार्यक्रम नेपालका लागि जर्मन राजदूत डा. थोमस प्रिन्चको उपस्थितिमा काठमाडौंस्थित जर्मन दूतावासमा भएको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।