काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले दोस्रो त्रैमाससम्ममा रू. ४४ करोड २४ लाख नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा सामान्य अर्थात् १ दशमलव ७३ प्रतिशत वृद्धि भएको हो । सो अवधिमा कम्पनीले रू. ४३ करोड ४९ लाख नाफा कमाएको थियो ।
कम्पनीको सञ्चालन नाफा भने गत आवको तुलनामा चालू आवमा १३ दशमलव ५८ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीको सञ्चालन नाफा रू. ६२ करोड ३ लाख रहेकोमा चालू आवमा बढेर रू. ७० करोड ४५ लाख पुगेको हो । त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी पनि गत आवको तुलनामा चालू आवमा १६ दशमलव ५१ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी रू. ८४ करोड ९८ लाख रहेकोमा चालू आवमा बढेर रू. ९९ करोड २ लाख पुगेको हो ।
दोस्रो त्रैमाससम्ममा कम्पनीको वितरणयोग्य नाफा रू. २६ करोड ८५ लाख छ । चुक्ता पूँजी रू. ३ अर्ब ८० करोड रहेको कम्पनीले दोस्रो त्रैमाससम्ममा जगेडामा रू. ३ अर्ब ७६ करोड, रिटेन्ड अर्निङमा रू. १ अर्ब ४५ करोड र शेयर प्रिमियममा रू. १ करोड ८२ लाख सञ्चिति गरेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २३ रुपैयाँ २५ पैसा, मूल्य आम्दानी अनुपात ३८ दशमलव १० गुणा र प्रतिशेयर नेटवर्थ २ सय ३७ रुपैयाँ ५२ पैसा छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।