क्यान इन्फोटेक २०२४ : सफ्टवेयरमा ७५ प्रतिशतसम्म छूट, देख्न पाइन्छ नेपालीले बनाएको रोबोट !

Share News

काठमाडौं । भृकुटीमण्डपमा जारी नेपालकै सबैभन्दा ठूलो सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘एसपावर क्यान इन्फोटेक २०२४ इन एशोसियशन विथ एचएमसी दहआ’मा प्रदर्शनीकर्ता कम्पनीबीच प्रविधि प्रदर्शनीसँगै बजारीकरणको प्रतिस्पर्धा चलेको छ । शनिवार प्रदर्शनीको तेस्रो दिन सकिँदा इन्फोटेक थप प्रविधिमय बनेको हो ।

यसअन्तर्गत विभिन्न कम्पनी तथा ब्राण्डले सेवाग्राहीलाई एकै थलोबाट आफ्ना उत्पादन एवं सेवाबारे जानकारी प्रदान गरिरहेका छन् । प्रदर्शनीस्थलमा रहेको ब्राण्डिङ कक्षमा सहभागी देशविदेशका विभिन्न कम्पनी एवं ब्राण्डले स्टलबाटै वितरक, डिलर तथा रिटेलरसँग जोडिएर व्यवसाय विस्तार गर्ने मौका पाएका छन् । साथै ग्राहकका जिज्ञासा एवं गुनासा पनि स्टलबाटै समाधान गरिरहेका छन् ।

नेपालमै उत्पादन भएका प्रविधि, नवप्रवर्तन क्षेत्रमा हासिल भएका अनुसन्धान र उपलब्धि तथा सूचना प्रविधिमैत्री स्टार्टअप व्यवसायमा पनि अवलोकनकर्ताको चासो बढेको छ । विशेषगरी साइबर सुरक्षा, कृषि, पर्यटन, हस्पिटालिटी लगायतका क्षेत्रमा प्रयोग हुने प्रविधिबारे बुझ्न चाहने अवलोकनकर्ता बढेको क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताए ।

शनिवार नेपाली अनुसन्धानकर्मीले विकास गरेको मसिन लर्निङमा आधारित रोबोट ‘कान्छी’को बेटा भर्सनसमेत सार्वजनिक गरिएको थियो । रोबोटका निर्माता टिममा सदस्य विक्रान्त कार्कीले मानिसबाट प्रतिक्रिया लिइरहेको र चाँडै नै पूर्ण उत्पादन सार्वजनिक गर्ने योजना रहेको सुनाए । यो रोबोटमा नेपालमा बोलिने विभिन्न भाषा एकीकृत गर्नेगरी काम भइरहेको समेत उनले जानकारी दिए ।

त्यस्तै इन्फोटेकको अवसर पारी विभिन्न सेवाप्रदायक तथा विक्रेताले आफ्ना सेवा तथा वस्तुमा छूट घोषणा गरेका छन् । यसअन्तर्गत कम्पनीले वस्तु खरीद तथा बुकिङमा छूट, निःशुल्क परामर्श तथा रमाइला खेल सञ्चालन गरिरहेका छन् ।

क्यान इन्फोटेक २०२४ को शीर्ष प्रायोजक एस पावर बीपीई प्राइभेट लिमिटेडले नेपालका शैक्षिक संघसंस्थाका लागि उपयोगी हुने स्मार्ट बोर्डसहित यूपीएस, अटोमेटिक भोल्टेज रेगुलेटर, वाटरपम्प लगायतका प्रविधिमा अधिकतम ४० प्रतिशतसम्म छूट घोषणा गरेको छ ।

त्यस्तै क्यान इन्फोटेकको सहप्रायोजक एचएमसी दहुआले दहुआ ब्राण्डका नेटवर्किङ प्रडक्ट, वायरलेस क्यामेरा, सीसीक्यामेरा, स्मार्ट बोर्ड तथा अन्य सेक्युरिटी प्रडक्टहरू विशेष छूटसहित प्रदर्शनीमा राखेको छ ।

इन्फोडेभलपर्स प्रालिले आफ्ना सहकारीका लागि चाहिने कोर बैंकिङ सफ्टवेयर तथा मोबाइल बैंकिङ सफ्टवेयर तथा बैंक तथा वित्तीय संस्थाका लागि बजेट, रिकन्सिलेसन सफ्टवेयर लगायतमा ७५ प्रतिशतसम्म छूट घोषणा गरेको छ । त्यस्तै पेनाहक टेक्नोलोजीले विभिन्न सफ्टवेयर सोलुसन्समा ५० प्रतिशतसम्म छूट दिइएको छ ।

प्रदर्शनीमा नेपाली स्टार्टअप र इनोभेसनबारे बुझ्न चाहने अवलोकनकर्ताको संख्या पनि उल्लेख्य रहेको क्यान महासंघका अध्यक्ष रणजीत पोदारले बताए । उनका अनुसार क्यान इन्फोटेकमा स्टार्टअप तथा इनोभेसन प्याभिलियनमा निःशुल्क स्टलको व्यवस्था गरिएको छ । डिजिटल नेपाल निर्माणका लागि सर्वसाधारणलाई प्रविधिबारे सचेतना गर्न तथा यस क्षेत्रमा प्रोत्साहन गर्न इन्फोटेकले आधारशीलाको काम गरेको उनको भनाइ छ ।

करीब १५० स्टल रहेको इन्फोटेकमा इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोलुसन, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुसन, सीसीटीभी, हार्ड डिस्क जस्ता उत्पादनका स्टलसमेत छन् । त्यसैगरी, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सेल्फ लर्निङ सफ्टवेयर तथा ट्युटोरियल आदि समेत प्रदर्शनीका आकर्षणको रूपमा छन् । क्यान इन्फोटेक सोमवार (माघ २९) सम्म सञ्चालन हुनेछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।