चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुँदै, लघुवित्तका समस्या र चुनौतीमाथि बृहत्  छलफल

Share News

काठमाडौं। बैंकको पहुँचमा नपुग्ने गरीब तथा विपन्न वर्गलाई सेवा दिने लघुवित्त क्षेत्रमा देखिएका समस्या र चुनौतीबारे छलफल गर्दै आगामी रणनीति बनाउन आगामी शनिवार र आइतवार काठमाडौंमा चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुने भएको छ । स्वावलम्बन विकास केन्द्रको आयोजनामा हुने सम्मेलनमा नियामक, नीतिगत र सरकारी निकायका प्रतिनिधि, लघुवित्त संस्थाका नेतृत्वकर्ता, सञ्चालक, लघुवित्तकर्मी, सेवाग्राही सदस्य, जनप्रतिनिधि गरी ७ सय जनाभन्दा बढीको सहभागिता रहने आयोजकले बिहीवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । 

नेपालमा विगत १०–१२ वर्ष लघुवित्त क्षेत्रका लागि सुनौला दिन रहे पनि पछिल्लो समय केही समस्या देखिएकाले त्यसको पहिचान गर्दै निराकरण गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले जानकारी दिए । ‘लघुवित्त क्षेत्रको पुन: संरचना र पुनर्जागरण गर्नुपर्ने आवश्यकता देखिएको छ,’ उनले भने, ‘त्यसका लागि सम्मेलन प्रभावकारी बन्ने अपेक्षा गरेका छौं ।’ त्यसका लागि सम्मेलनको नारा नै स्वस्थ लघुवित्त, समृद्ध सदस्य राखिएको उनले बताए । 

विश्वका १७८ देशमा सञ्चालन भइरहेको लघुवित्त मोडल ग्रामीण अर्थतन्त्रको पुन: संरचनाका लागि उपयुक्त रहेको श्रेष्ठले दाबी गरे । पछिल्लो समय देखिएका केही विकृतिले गर्दा नेपालमा लघुवित्त सेवा बदनाम हुन थालेको भन्दै उनले सुधारको आवश्यकता औंल्याए । त्यसैले सम्मेलन लघुवित्त सेवालाई स्वच्छ, स्वस्थ र सक्षम बनाउन तथा लक्षित वर्गको सामाजिक, आर्थिक समृद्धि स्थापित गर्ने अस्त्रका रूपमा अगाडि बढाउने उपाय खोज्न केन्द्रित हुने बताइएको छ । यसका साथै हरेक लघुवित्त सदस्यलाई उद्यमी बनाई आत्मनिर्भर बनाउनेतर्फ विशेष जोड दिने उनले बताए । अहिले युवापुस्तामा विदेशिने लहर चलेको भन्दै त्यसलाई रोक्न लघुवित्तले भूमिका खेल्नुपर्नेमा उनको जोड थियो । लघुवित्त संस्थाहरूले वित्तीय सेवासँगै शिक्षा, तालीम, सामाजिक काम गर्नुपर्नेमा आफ्नो भूमिका बिर्सिंदै गएको श्रेष्ठले गुनासो गरे । लघुवित्तले बढी ब्याज लिएको गुनासो सुनिए पनि नेपालको ब्याजदर दक्षिण एशियाकै न्यून रहेको उनले दाबी गरे । 

हाल लघुवित्त वित्तीय संस्था र लघुवित्त कारोबार गर्ने सहकारी संस्थाले नेपालको ७७ ओटै जिल्लामा पुगेर सेवा दिइरहेका छन् । ५७ ओटा लघुवित्त संस्थाले ५ हजार ८२ शाखामार्फत करीब ६० लाखलाई लघुवित्तमा आबद्ध गरेका छन् । यसमध्ये २८ लाख सदस्यले लघुवित्त कारोबार गर्ने संस्थाबाट ऋण लिएर व्यवसाय गरिरहेका छन् । लघुवित्त कारोबार गर्ने संस्थाले ४ खर्च ३२ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी पनि गरेका छन् । लघुवित्तबाहेक ५० जति लघुवित्त सञ्चालन गर्ने सहकारी संस्था पनि क्रियाशील रहेको आयोजकले जानकारी दिएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।