नेपाली बैंकका खातामा भएको रकम क्यूआरमार्फत भारतमा भुक्तानी शुरू

Share News

काठमाडौं । नेपाली बैंकका खातामा भएको रकम क्यूआरमार्फत भारतमा भुक्तानी गर्न पाइने भएको छ । गत फागुन १६ गतेदेखि क्रसबोर्डर क्यूआरमार्फत भारतीयका लागि खुला गरिएको भुक्तानी सेवा अब नेपालीका लागि पनि शुरू गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले एकीकृत परिपत्र २०८० संशोधन गर्दै क्यूआरमार्फत अन्तरराष्ट्रिय भुक्तानी शुरू गर्न बैंकहरूलाई सर्कुलेसन जारी गरेको छ । योसँगै अब नेपालीले पनि भारतका क्यूआरमार्फत भुक्तानी गर्न पाउने भएका हुन् । नेपाली बैंकका खाता होल्डरको लागि यो सेवा शुरू भएको हो । भारतीय नागरिकले त्यहाँको ‘फोन पे’ र ‘भीम एप’मार्फत गत फागुन १६ गतेदेखि भुक्तानी शुरू गरेका थिए ।

राष्ट्र बैंकले शुक्रवार जारी गरेको निर्देशनअनुसार वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंकमा खाता रहेका नेपालीले क्यूआरमार्फत भुक्तानी गर्न पाउने छन् । 

रिजर्भ ब्याङ्क अफ इन्डिया र राष्ट्र बैंकले दुई देशमा द्रुत भुक्तानी प्रणालीको समायोजनसम्बन्धी सेवाका सर्तहरूबारे गत फेब्रुअरीमा हस्ताक्षर गरेका थिए।

क्रसबोर्डर क्यूआर भुक्तानी सञ्चालन गर्न नेपालको फोन पे र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई)बीच गत भदौमा सम्झौता भएको थियो । 

त्यतिबेला भारतीयलाई नेपालमा क्यूआर कोडमार्फत भुक्तानी गर्न मिल्ने सुविधाको औपचारिक शुरुआत भए पनि राष्ट्र बैंकले स्वीकृति नदिँदा भारत जाने नेपालीले क्यूआरमार्फत भुक्तानी गर्न पाएका थिएनन्।

राष्ट्र बैंकको परिपत्र हेर्न यहाँ क्लिक गर्नुहोस्


 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।