फागुनमा आयातनिर्यात ५ महीनाकै उच्च

Share News

काठमाडौं । सरकारले आर्थिक गतिविधिमा क्रमश: सुधार भइरहेको दाबी गरिरहेका बेला देशको आयात–निर्यातको तथ्यांक पनि सकारात्मक देखिएको छ । भन्सार विभागले मंगलवार प्रकाशित गरेको तथ्यांकअनुसार गत फागुनमा आयात र निर्यात दुवै पछिल्लो ५ महीनाकै उच्च बिन्दुमा पुगेको छ । 

भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष (आव)को फागुनमा १ खर्ब ३२ अर्ब २७ करोड रुपैयाँ बराबरको सामान आयात हुँदा १३ अर्ब ७८ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । चालू आवमा असोजपछि सबैभन्दा बढी आयातनिर्यात फागुनमा भएको हो । असोजमा १ खर्ब ४८ अर्ब रुपैयाँ बराबरको सामान आयात हुँदा १४ अर्ब ४२ करोड बराबरको निर्यात भएको थियो । त्यसपछि पुससम्म आयातनिर्यात घटे पनि माघदेखि सुधारको लयमा छ । माघको तुलनामा फागुनमा साढे २ अर्ब रुपैयाँले आयात बढ्दा निर्यात पनि त्यत्ति नै बढेको देखिन्छ । 

उच्च शोधनान्तर घाटा र विदेशी मुद्राको सञ्चिति घटेपछि सरकारले गतवर्ष केही वस्तुको आयातमा प्रतिबन्ध नै लगाएको थियो । नेपाल राष्ट्र बैंकले पनि कसिलो मौद्रिक नीतिमार्फत आयातलाई निरुत्साहित गरेको थियो । 

विदेशी मुद्रा सञ्चितिमा सुधार आएसँगै सरकारले आयात प्रतिबन्ध हटायो । राष्ट्र बैंकले पनि मौद्रिक नीतिलाई क्रमश: लचिलो बनाउँदै लगेको छ । यसैगरी बैंकिङ प्रणालीमा देखिएको अधिक तरलताका कारण बैंकको ब्याजदर पनि घट्दै गएको छ । तर, बजारमा माग घट्दा वैदेशिक व्यापारमा उल्लेख्य सुधार नदेखिएको विज्ञहरूले बताउँदै आएका छन् । 

राष्ट्र बैंकका अनुुसार २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी मुद्रा सञ्चिति माघ मसान्त हुँदा १९ दशमलव ९ प्रतिशतले बढेर १८ खर्ब ४४ अर्ब ९४ करोड रुपैयाँ बराबर पुगेको छ । चालू आवको ७ महीनाको आयातलाई आधार मान्दा यो सञ्चितिले १४ दशमलव ७ महीनाको वस्तु र १२ दशमलव ३ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले औंल्याएको छ । 

भन्सार विभागका अनुसार गत आवको फागुनसम्मको तुलनामा भने चालू आवमा आयात निर्यात दुवै घटेको छ । गत आवको ८ महीनामा १० खर्ब ५८ अर्ब रुपैयाँ बराबरको सामान आयात भएकोमा चालू आवको सोही अवधिमा २ दशमलव ६६ प्रतिशतले घटेर १० खर्ब ३० अर्ब रुपैयाँमा सीमित भएको छ । 

यसैगरी गत आवको फागुनसम्ममा १ खर्ब ४ अर्ब रुपैयाँ बराबरको सामान नेपालबाट निर्यात भएकोमा चालू आवको सोही अवधिमा १ खर्बको मात्र निर्यात भएको भन्सार विभागले जानकारी दिएको छ । 

चालू आवको ८ महीनामा डिजेल, पेट्रोल र एलपीजी ग्यासपछि पेट्रोलियम तथा विद्युतीय सवारीसाधान आयातमा वृद्धि देखिएको छ । चालू आवमा विद्युतीय सवारीसाधनको आयात क्रमश: बढिरहेको भन्सार विभागले जानकारी दिएको छ । 

तर, निर्यातमा उच्च अंश ओगट्दै आएका पाम, भटमास र सूर्यमुखी तेलको कच्चा पदार्थ आयातमा भने कमी आएको छ ।यसैगरी चालू आवको फागुनसम्म सबैभन्दा बढी कार्पेट तथा गलैंचा निर्यात भएको देखिन्छ । फलाम तथा आइरन, पाम तेल पनि बढी निर्यात हुने वस्तुको सूचीमा छन् । 

आयातमा कमी आउँदा देशको व्यापारघाटामा भने राहत भएको छ । गत आवको फागुनसम्ममा ९ खर्ब ५३ अर्ब ५८ करोड रुपैयाँ बराबर व्यापारघाटा भएकोमा यस वर्ष ९ खर्ब २९ अर्ब रुपैयाँमा ओर्लेको विभागको तथ्यांकमा उल्लेख छ । 

चालू आवको फागुनसम्ममा सरकारले भन्सारबाट २ खर्ब ७० अर्ब ७८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । गत आवको फागुनसम्ममा भन्सारबाट २ खर्ब ४२ अर्ब ७२ करोड रुपैयाँ मात्र राजस्व संकलन भएको थियो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।