कृषक र कृषि उपजका विषयमा अन्तरक्रिया

Share News

चितवन। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतवार भरतपुरमा चितवनका कृषकसँग अन्तरक्रिया गरेको छ । कृषक र कृषि उपजमा विषादीको प्रयोग, त्यसको असर र दीर्घकालीन समस्याका बारेमा समितिले कार्यक्रम गरेको हो । 

समितिले पोष्ट हार्भेष्ट अभ्यास सुधार र बजार सम्बन्ध विकासबारे अन्तरक्रिया गरेको समितिका कार्यकारी निर्देशक डा. महादेवप्रसाद पौडेलले जानकारी दिए । भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिका कृषि क्रान्तितर्फ उन्मुख हुँदै गएको बताए । उनले देशलाई समृद्ध बनाउन सबैभन्दा पहिला कृषिमा आमूल परिवर्तन आउने गरी काम गर्न आवश्यक रहेको बताए ।

उनले कृषकले उत्पादन गरेका कृषि वस्तुको बजारीकरण गर्न र चिस्यान केन्द्रको व्यवस्थापन गर्न महानगर तयार रहेको बताए । चितवनमा उत्पादन भएका तरकारी तथा फलफूललाई काठमाडांै, पोखरासहित देशका मुख्य शहरमा रहेका तरकारी बजारमा स्टल राख्ने व्यवस्था मिलाउन महानगरले पहल गर्ने उनको भनाइ थियो ।

समितिले हाल देशका ४ स्थानमा कृषि बजार र निर्माणाधीन बजार क्षेत्र सञ्चालन गरी काम गरिरहेको छ, जसअन्तर्गत कालिमाटी बजारमा थोक कारोबार, बालाजु बजारमा खुद्रा कारोबार, चोभार बजारमा फलफूल तथा पुष्प बजार र नौविसे संकलन केन्द्रबाट कृषकले उत्पादन गरेका ताजा तरकारी तथा फलफूल विक्रीवितरण गर्दै आएको बताइएको छ । समितिमा हाल ५ सय ९९ व्यवसायी आबद्ध छन् । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।