फागुनको तुलनामा चैतमा मूल्यवृद्धि दर घट्यो

Share News

काठमाडौं । फागुनको तुलनामा चैतमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि दर घटेको छ । नेपाल राष्ट्र बैंकले आइतवार (आज) सार्वजनिक गरेको वित्तीय विवरण अनुसार फागुनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशत थियो भने चैतमा ४.६१ प्रतिशत छ ।

अघिल्लो वर्षको सोही महीनामा यस्तो मुद्रास्फीति ७.७६ प्रतिशत थियो । चैतमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.२१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.१४ प्रतिशत छ ।

सोही महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक २२.६४ प्रतिशत, तरकारीको १६.९९ प्रतिशत, दाल तथा गेडागुडीको १०.९४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.५९ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ६.०६ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १०.१० प्रतिशतले घटेको छ ।

समीक्षा महीनामा गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरू उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १२.८१ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १२.६१ प्रतिशत र शिक्षाको ७.३१ प्रतिशतले बढेको छ भने यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ०.३३ प्रतिशतले घटेको छ ।

२०८० चैतमा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.०६ प्रतिशत, तराईको ४.५८ प्रतिशत, पहाडको ५.३३ प्रतिशत र हिमालको ४.३२ प्रतिशत छ । अघिल्लो वर्षको सोही महीनामा उक्त क्षेत्रहरूको यस्तो मुद्रास्फीति क्रमशः ८.५७ प्रतिशत, ७.६८ प्रतिशत, ७.०१ प्रतिशत र ७.४७ प्रतिशत थियो ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।