काठमाडौं । चैत मसान्तसम्ममा विदेशी विनिमय सञ्चिति २४.२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आइतवार (आज) सार्वजनिक गरेको वित्तीय विवरण अनुसार २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २४.२ प्रतिशतले बढेर २०८० चैत मसान्तमा १९ खर्ब ११ अर्ब ८६ करोड पुगेको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० चैत मसान्तमा २२.७ प्रतिशतले बढेर १४ अर्ब ३६ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८० चैत मसान्तमा २५.४ प्रतिशतले वृद्धि भई १६ खर्ब ८८ अर्ब २१ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८० चैत मसान्तमा १५.५ प्रतिशतले वृद्धि भई २ खर्ब २३ अर्ब ६५ करोड कायम भएको छ ।
२०८० चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.६ प्रतिशत छ । आर्थिक वर्ष २०८०/८१ को ९ महीनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५ महीनाको वस्तु आयात र १२.५ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
यो पनि हेर्नुस् :
चालु खाता १ खर्ब ७९ अर्ब ४८ करोडले बचतमा, शोधनान्तर स्थिति ३ खर्ब ६५ अर्ब १६ करोडले बचतमा
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।